व्यापारीले भदौ १ देखि दुधको मूल्य बढाउन सरकारसँग माग गरेका छन्। लामो समयसम्म दूधको मूल्य नबढेको भन्दै दूधको मूल्य बढाउन व्यावसायीहरू कस्सिएका छन्।
‘दूधको मुल्य नबढेको दुई/तिन वर्ष भयो। सरकारलाई दुधको मूल्य बढाउन माग गरका छौं’, नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले सेतोपाटीसँग भने,‘गाईवस्तुलाई खुवाउने दाना, चोकर, औषधि लगायत हरेक सामान महंगिएका छन्। दूधको उत्पादन कम छ। अब मुल्य बढाउन पर्छ भनेर हामीले सरकारलाई माग गरेका छौँ।’
उनकाअनुसार प्रतिलिटर १० रूपैयाँका दरले दूधको मूल्य बढाउन व्यापारीको माग छ।
लामो समयदेखि दूधको मूल्य नबढ्दा किसान र उद्योगी दुवै मारमा परेको र यसबाट उत्पादन पनि कम भएको उनको भनाइ छ। उत्पादनमा कमी हुँदा पछिल्लो समय बजारमा दूध हभाव हुन लागेको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
दूधको मूल्य नबढाए डेरी उद्योग धरासायी बन्ने केन्द्रीय दूग्ध उत्पादक शहकारी सङ्घका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताए। यस विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालसँग छलफल भइरहेको उनले जानकारी दिए।
केहीदिन अघि मन्त्री खनालले दूधको मूल्य बढ्ने तर त्यसको लाभ किसानले पाउपनुपर्ने बताएका थिए। चितवनमा आयोजित कार्यक्रममा मन्त्री खनालले मूल्य बढाएर व्यापारीले लाभ पाउने अवस्था आउन नहुने बाएका थिए।
यद्यपी राष्ट्रिय दुग्ध विकास बोर्डले भने मूल्यका बारेमा हालसम्म कुनै छलफल नभएको बताएको छ।
बोर्डका अध्यक्ष बाबुकाजी पन्तले अहिलेसम्म मूल्य बढाउने छलफल भएको आफूलाई जानकारी नभएको बताए। उनकाअनुसार दूधको मूल्यका विषयमा भोली छलफल हुनेछ।
लगातार दूधको मूल्यमा किसान र उद्योगीको गुनासो आएपछि १५ दिनभित्रै कार्यदल गठन गरेर दूधको मूल्य बढाउने कृषिमन्त्री चक्रपाणी खनालले एक कार्यक्रममा बताएका थिए। तर सो अनुरूप कार्यदल गठन भएको छैन।
सरकारले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउने हो भने बजारमा उपभोक्तालाई प्रतिलिट ९० देखि १ सय रूपैयाँ पर्न जान्छ। अहिले बजारका अधिकांश डेरीमा दूध प्रतिलिटर ८० देखि ९० रूपैयाँ छ।
तर उपभोक्ताकर्मीहरुले भने व्यवसायीहरु सरकारले तोकेको मापदण्ड पूरा गर्ने भन्दा पनि मूल्य बढाउनमै केन्द्रित भएको भन्दै विरोध जनाएका छन्। दूधको गुणस्तर ग्यारेन्टी भएपछिमात्र मूल्य बढाउनुपर्ने उनीहरुले माग गरेका छन्।