वर्षात मौसम अन्तिमतिर पुग्नै लागेको छ। यसपछिको मौसम तरकारी खेतीका लागि उपयुक्त मानिन्छ। नेपालमा प्राय:जसो तरकारी हिउँदयाममा उत्पादन गरिन्छ। त्यसका लागि भदौपछि बेर्ना उमार्ने तथा हुर्काउने काम सुरू हुन्छ।
भदौपछिको समय काउलीको मुख्य सिजन हो। तर यो हावापानी अनुसार फरक पनि हुन्छ। उच्चपहाडी क्षेत्रमा चैतदेखि नै लगाउन सुरू गर्छन्।
काउली समूहका तरकारी अन्तर्गत काउली, ब्रोकाउली, ग्याँठगोभी, चाइनिज बन्दा आदि पर्दछन्। यस समूहका तरकारी बाली सुख्खा मौसम रुचाउँछन्। तर हाइब्रिड जातका काउली वर्षातको समयमा पनि लगाउन सकिन्छ।
यस्तै, काउली खेतबारीसँगै घरको बरण्डा, छत तथा करेसाबारीमा सजिलै उत्पादन गर्न सकिन्छ। प्रतिबोट जमिनको आकार धेरै नचाहिने भएकाले थोरै ठाउँमा पनि लगाउन सकिन्छ।
खेती प्रविधिमा आएको प्रविधिका कारण यस्ता तरकारी गमलामै हुर्काउन सकिन्छ। यस्ता गमला बजारमा अहिले प्रसस्त पाइन्छन्। आवश्यक मल माटोको व्यवस्थासहित पनि पाइने यस्ता गमलामै काउली लगाउने तपाइको इच्छा भए नजिकैको कृषि सामाग्री पसलमा सम्पर्क गर्न सक्नुहुन्छ।