पछिल्लो समय अग्यार्निक तरकारी प्रतिको आकर्षण बढ्दो छ। बजारको विषादीसहितको तरकारीको बिकल्पममा कौसी,करेसामै अर्ग्यानिक उत्पादन कसरी गर्न सकिन्छ भनेर खोज्दै हिडेका पाइन्छन्।
घरमा तरकारी त लगाउने। तर रोग किराबाट बचाउने र वोट बिरुवालाई चाहिने पोषण पूरा गर्नलाई मल पनि रसायान बिहिन चाहियो। यसका लागि पनि बिकल्प छ। अर्थात् घरमै प्राङ्गरिक मल बनाउने।
वरिष्ठ वागवानी विकास अधिकृत अरूण काफ्लेकाअनुसार घरबाट निस्कने जैविक पदार्थबाट घरमै प्राङ्गरिक मल तयार पार्न सकिन्छ।
यस्तो मल दुई तरिकाले बनाउन सकिन्छ।
तपाईको घर नजिकै वा घरमै अलिकति खाली जग्गा छ भने त्यहाँ एउटा खाल्डो बनाउने। त्यसमा पातपतिंगर र घरबाट निस्किएको कुहिने फोहर हालेर जमिनको सतहभन्दा मुनी हुनेगरी राख्ने । त्यस्तो खाल्डो ३ मिटर लामो, १.५ मिटर चौडा र १ मिटर गहिरो हुनुपर्ने काफ्लेको भनाइ छ।
'खाल्डोमा कुहाउने वस्तुहरू तह–तह मिलाएर राख्नुपर्छ। तह धेरै बाक्लो हुनुहुँदैन। सुरूमा खाल्डोको आधा भाग मात्र कुहाउने वस्तुले भर्नुपर्छ। यसो गर्दा फोहोर पल्टाउन सजिलो हुन्छ। पछि पल्टाउँदै फोहोर थप्दै जाँदा पानी र माटो पनि मिसाउन बिर्सनु हुँदैन। फोहोर छिटै कुहियाउन चिस्यानको मात्रा बढी हुनुपर्छ' काफ्लेले भने।
कुहिन सुरू गरेपछि तापक्रम ६० देखि ९० डिग्री सेल्सियस पुग्नुपर्छ। यसरी कम्तिमा ३ महिनामा खाल्डोमा आधारित कम्पोष्ट मल तयार हुन्छ।
यसरी तयार पारिएको मलमा विरूवाई चाहिने सबै तत्वहरू पाइन्छन्।
खाल्डो नखनी थुप्रोमा वस्तु कुहाएर पनि मल बनाउन सकिन्छ।
जैविक पदार्थहरू जमिनमा तह–तह बनाएर राख्ने। त्यस्तो थुप्रोको उचाई ३० सेन्टिमिटरको बनाएपछि पानीले राम्ररी भिजाउनुपर्छ। त्यसपछि माटो र खरानी मिलाई गोबर पातलो सतह हुने गरि छोपी दिनुपर्छ।
वस्तुहरू १ देखि १.५ मिटर अग्लो हुने गरि थप्दै जानुपर्छ। थुप्रोबाट खाद्य तत्व उडेर जान नदिन थुप्रोको माथिल्लो भाग माटोले राम्ररी छोपी दिनुपर्छ।
एक–एक महिनामा माथिको भाग तल र तलको भाग माथि हुने गरि ओल्टाइ–पल्टाइ गर्नुपर्छ। यसरी ३ देखि ४ महिनामा मल तयार हुन्छ।