व्यावसायिक घराना गोल्यान ग्रुपले किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बजारमा ल्याउने भएको छ। साउन ३० देखि ‘माटो’ ब्राण्डमार्फत् कृषि उपज बजारमा ल्याउन लागिएको गोल्यान एग्रो प्रालीका कार्यकारी निर्देशक सलिल कुमार श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार धादिङ, बाजुरा, मकवानपुर लगाएत काठमाडौंका कृषि फार्मबाट अग्र्यानिक फलफुल तथा तरकारी ल्याइने छ। ग्रुपले किसानबाट सङ्कलन गरेको तरकारी भण्डारणको लागि बालाजु औद्योगिक क्षेत्रको कोल्ड स्टोर भाडामा लिएको छ। त्यहीँबाट तरकारी प्याकिङ गरेर बजारमा पठाइने उनले जानकारी दिए।
तरकारी भाटभटेनी, सुपरमार्केट तथा विगमार्टमा पठाइने छ। अब उपभोक्ताले दैनिक ताजा तरकारी खान पाउँनेछन्। ग्रुपले बजारमा ल्याएको तरकारी उपभोक्तालाई महँगो नहुने गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए।
‘हामीले ल्याएको अर्ग्यानिक तरकारीको मूल्य बजारमा रहको विषादीयुक्त तरकारीको मूल्य सरहनै हुन्छ’, उनले भने, ‘अर्ग्यानिक तरकारी भन्दैमा उपभोक्ताले महँगो तिर्नु पर्दैन।’
ग्रुपका अनुसार विहिबारदेखि ‘माटो’ ब्राण्डको कृषि उत्पादन दैनिक बजारमा आउने छ। विस्तारै ‘माटो’ ब्राण्डको तरकारी देशभर फैलाउने ग्रुपको योजना छ।
टेक्सटायल तथा बैंकिङ व्यवसायमा रहेको ग्रुप पछिल्लो समय कृषि क्षेत्रमा पनि सक्रिय छ।
ग्रुपले केही आफैंले त केही किसानसँग मिलेर फलफुल तथा तरकारी उत्पादन गरेको छ। कमर्शियल फार्मिङका लागि ग्रुपले झापाको चकचके, घेराबारी, गैरीगाउँ लगायत विभिन्न ठाउँमा तीन सय बिघा जग्गा किनेको छ।
त्यहाँका पाँच सय किसानसँग सहकार्य गरी अर्ग्यानिक फलफूल तथा तरकारी उत्पादन गरेको छ। उत्पादित वस्तुलाई ‘माटो’ ब्राण्ड अन्तर्गत बजारमा ल्याउन लागेको हो।
ग्रुपले आफूसँग सहकार्य गरेका किसानको मात्र नभई अन्य किसानले उत्पादन गरेको अग्र्यानिक तरकारी पनि आफूहरूले लिने ग्रुपकी निर्देशक लतिका गोल्यानले बताइन्।
‘हामी तरकारीको विषादी परीक्षण गर्छौ। कुनै विषादी नहाली तरकारी उत्पादन गरेको छ भने जसको पनि लिन्छौं’, उनले भनिन्।
कृषि उत्पादनमा विषादी प्रयोगले रोग बढ्दै गएकाले आफूहरूले अर्ग्यानिक खेती गरी तिनै उत्पादन बजारमा ल्याउने उनको दावी छ। देशभरको कृषि उत्पादनलाई १० वर्षपछि अग्र्यानिक बनाउने लक्ष्य लिइएको उनले बताइन्। गाउँगाउँमा गएर किसानसँग समन्यव गर्न उनीहरूले ‘जयन्त गोल्यान फाउन्डेसन’ स्थापना गरेका छन्।
यो फाउन्डेसनमा विभिन्न गाउँहरू जोडेर त्यहाँका किसानलाई अग्र्यानिक खेती सिकाइने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने उनले जानकारी दिइन्।