व्यवसायिक घराना गोल्यान ग्रुप व्यवसायिक खेतीमा लाग्ने भएको छ। संस्थागत सामाजिक उत्तरदायित्वका रुपमा किसानलाई सहयोग गर्दै आएको ग्रुपले अर्ग्यानिक कृषिलाई विस्तार गर्न व्यवसायिक रूपमै खेती गर्न लागेको हो।
व्यवसायिक खेतीका लागि ग्रुपले झापाको चकचके, घेराबारी, राजगढ, मदरगाढ लगायत विभिन्न ठाउँमा तीन सय बिगाह जग्गा किनेको छ।
त्यहाँका जग्गामा स्ट्रबेरी, कागती, ड्रयागन फ्रुट, धान, मेवा, लगायत मौसमी तरकारी तथा फलफूल लगाउने गोल्यान एग्रो प्रालीका कार्यकारी निर्देशक सलिल कुमार श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार ग्रुपले चकचकेको ५ विगाहमा कागती, १० विगाहमा धान र १० विगाहमा खर्बुजा लगाएको छ।
त्यस्तै राजगढमा ३० विगा जग्गामा स्ट्रबेरी लगाउने योजना बनाएको छ।
मदरगाढमा २.२५ विगा जग्गामा ड्रयागन फ्रुट, ३.८ विगा जग्गामा मेवा र १.५६ विगा जग्गामा कागती लगाउन लागेको उनले बताए।
उनका अनुसार घेराबारीको १० विगाहमा आँप, १२ विगाहमा कागती र बाँकीमा आर्युवेद औषधिका लागि प्रयोग हुने अन्य वनस्पती लगाउन लागेको छ।
भएका सबै जमिन उपयोग गरी खेति गर्ने योजना रहेको उनी बताउँछन्।
‘आफ्नो सबै जमिन उपयोग गर्छौं। रोपेर बचेका थोरै भाग जमिन वा डिलमा बाँस तथा सुपारी लगाउने योजना बनाएका छौं’, उनले भने।
ग्रुपले उत्पादनका लागि बिऊ छिमेकी मुलुक भारतबाट ल्याएको छ। आगामी वर्ष आफै बिऊ उत्पादन गर्ने समेत उनले जानकारी दिए।
त्यो बोहेक ग्रुपले झापा र बर्दियामा गरेर १ सय ९० विगाह जग्गामा मसिनो जातको (कालानम) धान लगाएको छ। त्यहाँका किसानसँग सहकार्य गरेर ग्रुपले धान लगाएको हो।
वर्षेनी आयात हुने मसिनो चामलको परिमाणलाई घटाउन धान उत्पादन गरेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए।
उत्पादनका लागि किसानलाई धानको बिऊ ग्रुपले नै वितरण गरेको छ। १ केजी धानको ६५ रूपैयाँ किसानलाई दिने सम्झौता भएको उनले बताए। ग्रुपले २ लाख ७५ हजार केजी धान उत्पादन हुने प्रक्षेपण गरेको छ।
उनका अनुसार धानको बिऊका लागि ग्रुपको २५ देखि ३० लाख लगानी लागेको छ। उक्त लगानीलाई संरक्षण गर्न बिऊ कम्पनी खोल्ने ग्रुपको योजना छ। किसानबाट धान खरिद गरेर ग्रुपले चामल बनाएर बजारमा बेच्ने छ।
आगामी वर्ष १ हजार विगाहमा मसिनो धान लगाई चामल आयातलाई रोक्ने गोल्यानले बताए। उत्पादन भएका सामान ग्रुपले ‘माटो’ ब्राण्डमार्फत् नेपालमै बेच्ने छ। नेपालमा बेचेर बढी भएका सामान भने विदेश निर्यात गर्ने ग्रुपको योजना छ।