राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठन भएको कार्यदलले कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई दूधको मूल्य बढाउन सिफारिस गरेको छ। सोमबार बसेको बैठकले निकालेको निश्कर्षका आधारमा दुधको मूल्य सिफारिस गरिएको हो।
कार्यदलले दूध बढी उत्पादन हुने समयमा प्रतिलिटर ६ रूपैयाँ र कम उत्पादन हुने समयमा प्रतिलिटर १० रूपैयाँका दरले बढाउन मन्त्रालयमा सिफारिस गरेको छ। बढेको दूधको मूल्य ६९ प्रतिशत किसानलाई जाने र बाँकी ३१ प्रतिशत उद्योगी तथा ब्यापारीलाई जाने बोर्डका अध्यक्ष बाबुकाजी पन्तले जानकारी दिए।
कार्यदललले सिफारिस गरेको मूल्यलाई मन्त्रालयले अध्ययन गरी एक दुइ दिन भित्रै डिडिसीलाई पत्र लेख्ने मन्त्रालयले जानकारी दिएको छ। डिडिसीलाई आएको निर्देशन अनुसार निजी डेरी उद्योगले पनि मूल्य लागू गर्नेछन्।
दुइ तीन वर्ष यता देखि दूधको मूल्य नबढेको भन्दै उद्योगी तथा किसानहरू सरकारलाई दूधको मूल्य बढाउन माग गर्दै आएका थिए।
लामो समयदेखि दूधको मूल्य नबढ्दा किसान र उद्योगी दुवै मारमा परेको र यसबाट उत्पादन पनि कम भएको उनीहरूको भनाइ छ। उत्पादनमा कमी हुँदा पछिल्लो समय बजारमा दूध अभाव हुन लागेको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
लगातार दूधको मूल्यमा किसान र उद्योगीको गुनासो आएपछि १५ दिनभित्रै कार्यदल गठन गरेर दूधको मूल्य बढाउने कृषिमन्त्री चक्रपाणी खनालले एक कार्यक्रममा बताएका थिए।
सरकारले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउने हो भने बजारमा उपभोक्तालाई प्रतिलिट ९० देखि १ सय रूपैयाँ पर्न जान्छ। अहिले बजारका अधिकांश डेरीमा दूध प्रतिलिटर ८० देखि ९० रूपैयाँ छ। डिडिसी लगायत अन्य निजी कम्पनीहरुले बेच्ने दूधको मूल्य नै प्रतिलिटर न्यूनतम ७० रुपैयाँ छ।
तर उपभोक्ताकर्मीहरुले भने व्यवसायीहरु सरकारले तोकेको मापदण्ड पूरा गर्ने भन्दा पनि मूल्य बढाउनमै केन्द्रित भएको भन्दै विरोध जनाएका छन्। दूधको गुणस्तर ग्यारेन्टी भएपछि मात्र मूल्य बढाउनुपर्ने उनीहरुले माग गरेका छन्।