पाँच स्थानीय तहमा आधुनिक बधशाला निर्माण हुने भएको छ। हेफर नेपालको सहकार्यमा नेपालका प्रमुख शहर बिराटनगर, भरतपुर, पोखरा, बुटवल र कोहलपुरमा बधशाला निमार्ण हुने भएको हो। बुधबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
बधशालाहरु सार्वजनिक, निजी–उत्पादक साझेदारी मोडल अन्तर्गत सञ्चालित हुने छन्। सार्वजनिक क्षेत्रबाट सामाजिक उत्तरदायित्वको भूमिका अन्तर्गत जनतालाई स्वच्छ तथा सफा मासु उपभोगका लागि भौतिक संरचनाहरु निर्माणमा लगानी रहने छ।
उत्पादक किसान तथा मासु व्यवसायीहरुले छुट्टाछुट्टै इन्भेष्टमेन्ट कम्पनीहरू दर्ता गरि बधशाला संचालनका लागि लगानी गर्ने छन्। बधशाला संचालन महिला किसान र मासु व्यवसायीहरुको प्राइभेट कम्पनीमार्फत गरिने छ।
कम्पनीमा उत्पादक महिला किसानहरुको प्रमुख शेयर सहभागिता रहने छ।
बधशाला निमार्णका लागि हालसम्म स्थानीय तथा प्रदेश सरकारकातर्फबाट ३२ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ।
खसी–बोका उत्पादक महिला किसानहरु र मासु व्यवसायीहरुकातर्फबाट २२ करोड रुपैयाँ भन्दा बढी शेयर रकम प्रतिबद्धता आएको छ।
आधुनिक बधशाला निर्माण तथा संचालनबाट प्रत्यक्ष रूपमा उत्पादक किसानहरु लाभान्वित हुने छन्। त्यसका साथै स्वच्छ तथा सफामासु उत्पादनमा टेवा पुग्ने हेफर नेपालले विश्वास लिएको छ।
नेपाल सरकारको पशु बधशाला तथा मासु जाँच ऐन २०५५ ले स्वच्छ तथा सफा मासु उत्पादन तथा बिक्री–बितरणका लागि बधशाला निर्माण, संचालनको परिकल्पना गरेको छ।
तर आन्तरिक रूपमा पर्याप्त खसी बोका उत्पादन नहुनु, समुदाय र बजार बीचको समन्वयको अभावका कारण बधशाला निर्माण तथा संचालनका प्रयासहरु प्रभावकारी हुन सकेको छैन।