कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चाडवाडमा पनि खुला रूपमा खसी–बोका आयात नहुने बताएका छन्। मासुबाट नै विभिन्न रोग भित्रिने बताउँदै उनले स्वस्थ पशुमात्र भित्र्याउने बताए।
‘व्यवसायीले क्वारेन्टाइन परीक्षण विना खसी–बोका आयात गर्न माग गरिरहेका छन्, हामीले मानेका छैनौँ’, मन्त्री खनालले भने, ‘व्यावसायीले घेराबन्दी गरिरहेका छन्। दशैंमा त देख्लास भनेका छन्, मैले केही फरक पर्दैन केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौं त्यसैमा जोड गर्नु पर्ला भनेको छु।’
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएकाले कुनै वस्तु आयातमा रोक नलगाइएको मन्त्री खनाल बताउँछन्। तर सांसारभरिका रोग हुल्ने गरी स्वास्थ्य परीक्षण नगरी खसीबोका ल्याउन नदिने मन्त्री खनालको अठोट छ।
नेपालमा खसी–बोकाको उत्पादन कम भएको सरकारी तथ्याङ्कले नै देखाउँछ। अहिले काठमाडाैमा मात्र प्रतिदिन १ हजार देखि १२ सय खसी बोका आवश्यक छ तर ३ देखि ४ सय मात्र आन्तरिक उत्पादन हुन्छ।
सरकारले २०५५ सालमा बनाएको पशु बधशाला तथा पशु जाँच ऐन कडाइका साथ कार्यान्वयनमा ल्याउँदा भारतीय खसी भित्रिन सकेका छैनन्।
ऐनको दफा १० मा बध गरिएको पशुको मासु जाँच गर्दा त्यस्तो मासुमा केही खराबी वा रोग भएको पाइएमा आंशिक वा पूर्णरूपमा विक्री वितरणको लागि निषेध गर्न सक्ने व्यवस्था छ। सो व्यवस्थालाई कडाइका साथ लागू गरिएपछि भारतबाट खसीबोका तथा मासु आयात घटेको छ।
यसले नेपाली बजारमा मासूको मूल्य अस्वभाविक रूपमा बढाएको छ।
नेपाल माछा मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी सरकारले भारतीय खसिबोका आयात नखोले दुई महिनापछि देशमा मासु किन्नै नपाईने बताउँछन्।
सरकारले सर्वेक्षणका नाममा किसानको गोठमा भएका ब्याउने बाख्रादेखि साना पाठासम्मको गणना गरेर खसी बोका उत्पादनमा नेपाल आत्मनिर्भर भयो भन्यो र आयात रोक्यो’, उनले भने, ‘अहिले त्यसको असर आम उपभोक्ताले खेप्नु परेको छ।’