मकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि संचालनमा आउने भएको छ। भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला सरकार र निजी पक्षको पहलमा पुनः संचालनमा आउने भएको हो।
मन्त्रालयलयको ६१ लाख २९हजार र संस्थाको ७० लाख सहयोगमा बधशाला संचालन हुने भएको छ।
सुरुमा बध गरिएको मासु काठमाडौ र हेटौंडामा पठाइने बधशाला साझेदार संस्था बफेलो क्वालिटी फुडका संचालक सैयाद रियाजौद्दिइनले जानकारी दिए।
अव्यवस्थित बध प्रक्रियाको अन्त्य गरि उपभोक्तालाई स्वस्थकर मासु उपलव्ध गराउने उद्देश्यले बध सञ्चालनमा ल्याइएको उनले बताए।
उनका अनुसार बधशालामा प्रतिघन्टा २० वटा राँगा–भैंसी बध गर्न सकिने छ। विस्तारै खसी–बोका र कुखुरा पनि बध गरिने छ।
बधशालामा पारिश्रमिक तिरेर अन्य उपभोक्ताले पनि पशु बध गराउन सक्नेछन्।
डेनिस सरकारको सहयोगमा बि.स २०२७ सालमा निर्माण भएको आधुनिक बधशाला राजनीतिक अस्थिरताका कारण २०३३ सालमा बन्द भयो।
पछि बफेलो फुडले स्वामित्व लिएर सन्चालन गरेको बधशाला भारतले नाकाबन्दी लगाएपछि राँगा आयात हुन नसक्दा पुनः बन्द भयो।
शुक्रबार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले बधशालाको अवलोकन गरेका थिए।
स्वस्थ मासु खानका लागि हेटौंडा जस्तै अन्तका पनि बन्द रहेका बधशाला पुनः संचालन र नयाँ निर्माणका लागि पहल गर्ने कृषि मन्त्री खनालको भनाइ छ ।
५४.२५ रोपनी क्षेत्रफलमा फैलिएको बधशाला संचालन गरेर नमूना काम गर्न लागेको प्रदेश ३ का कृषि सचिव डा. योगेन्द्र कार्कीले बताए।
यसैबिच बफेलो फुडले २ वटा चिस्यान घर र ४ वटा चिस्यान गाडी किन्नका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन मन्त्री खनालसँग आग्रह गरेका छन्।