‘लौ आयो जुम्लाको स्याउ। एक सय रुपैंयाको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक अनि ताजा स्याउ,’ प्रदीप लामा बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौलाका गल्लीहरुमा ठेलामा डुलाएर स्याउ बेचिरहेका थिए।
उनको आवाज सुन्नेहरु घर बाहिर निस्कन्थे र नपत्याएर सोध्ने गर्थे 'के यो साँच्ची नै जुम्लाको स्याउ हो?’ तुलसीपुरको बसपार्क निवासी ३३ वर्षीय लामाले विश्वास दिलाउन देउती बज्यै भन्दै कसम खान्थे। एक सय रुपैयाँको एक किलो स्याउ घर आँगनमै पाउँदा स्थानीय पनि दंग थिए।
लामाले त्यसरी तुलसीपुरका विभिन्न स्थानमा ठेलामा डुलाएर स्याउ बेच्न लागेको हप्ता दिन बढी भइसकेको बताए। ‘यो स्याउ सल्यानी साहुजीको हो । म दैनिक ज्यालामा स्याउ बेच्छु,’ लामाले भने ‘ दैनिक एक हजारदेखि १२ सयसम्म कमाई हुन्छ।’ स्याउ धेरै विक्री गरेको दिन साहुले खुसी भएर त्यसमा अरु रकम पनि थप्दिने गरेको उनले बताए । ‘जुम्लाको स्याउ खुबै मिठो छ। एकाध घन्टामै ठेला रित्तिन्छ’ उनले भने।
यो वर्ष जुम्लाको स्याउ दाङ, बाँके लगायत तराईका जिल्लाहरुमा पर्याप्त मात्रामा भित्रिएको छ। जुम्लाको स्याउको व्यापारले यतिबेला भारतीय र चाईनाको स्याउको व्यापार ठप्प प्राय रहेको ५२ वर्षीय व्यापारी मनोहर गुप्ताले बताए।
विगत १५ वर्षदेखि तुलसीपुर बजारमा फ्रुट सेन्टर सञ्चालन गर्दैै आएका गुप्ताले यसअघि जुम्लाको स्याउले अहिलेजस्तो महत्व नपाएको बताए। ‘ जुम्लाको स्याउले भारतीय र चाईनाको स्याउको विक्री लगभग ठप्प छ,’ उनले भने।
बजारमा खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँमा जुम्लाको स्याउ पाउने भएपछि भारतीय र चाइनिज स्याउ विक्री नहुने गरेको अर्का फलफूल व्यापारी विनोदकुमार नेपालीले बताए।
जाहिर फ्रुट सेन्टरमा कार्यरत उनले भारतीय र चाईनिज स्याउ भन्दा जुम्लाको स्याउ खानमा मिठो र राम्रो हुनुका साथै मुल्य पनि आधा सस्तो रहेकोले भारतीय र चाइनिज स्याउ मानिसहरुले किन्नै छोडेको बताए। ‘ठेला डुलाएर व्यापार गर्नेहरुले गर्दा पनि हामीलाई समस्या भएको छ,’ नेपालीले भने ‘ एकसय रुपैयाँको एक किलो जुम्लाको स्याउ भन्दै कराउँछन्, त्यसले गर्दा हाम्रोमा ग्राहक घटेका छन्।’
उनले आफू लगायत जिल्लाका अधिकाँस फलफूल व्यवसायीले जुम्लाको स्याउ खरिद गरेर विक्री वितरण गर्दै आएको जानकारी दिए।