अब नेपालमा उत्पादन भएका सुन्तला चीनमा निर्यात गर्न सहज हुने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणका क्रममा भएको समझदारीपछि नेपाली सुन्तला चीनमा निर्यात गर्न सहज देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले जानकारी दिए।
उनका अनुसार सिट्रस फ्रूट (सुन्तला कागती, जुनार लगायतका फलफूल) निर्यातसम्बन्धी प्रटोकलमा नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सम्झौता भएको छ।
किरा नभएका क्षेत्रको मात्र फलफुल निर्यात गर्ने चिनियाँ क्वारेन्टाइन नीतिले गर्दा नेपालमा उत्पादन भएका सुन्तला तथा सुन्तलाजन्य जातका फलफुल निर्यात हुन सकेका थिएनन्। सो सम्झौता पछि किरा नभएका सुन्तला तथा सुन्तलाजन्य जातका फलफुल चीन निर्यात हुने भएको छ।
आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरेका छन्।
उक्त समझदारीले नेपाली उत्पादनको बजार विस्तारमा थप सहयोग हुने मन्त्रालयको विश्वास छ।