तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीको अम्वापुर निवासी ४३ बर्षीय हिरामोती चौधरी एक बिघा क्षेत्रफलमा ढकमक्क फूलेका हजारौं सयपत्री फूल देखेर दंग छिन्।
आफ्नो ठाउँको नाम फूलबारी भएपनि यसरी ठूलो संख्यामा फूल फूलेको पहिलो पटक देखेकी हुन्।
‘ढकमक्क फूलका सयपत्री फूलहरुले धर्ती नै उज्यालो भएको छ । मलाई त यही फूलहरुको माझमा बसीरहूँजस्तो लाग्छ’, उनले भनिन्।
धान,मकै, गहुँ, मसुरो जस्ता अन्नबालीको मात्रै खेती हुँदै आएको स्थानमा पहिलोपटक फूलको व्यवसायिक खेती गरिएपछि आज यसले चौधरीको मात्र होइन धेरैको ध्यान तानेको छ।
नयाँ चिजको आकर्षणले हुनुपर्छ, दंगिशरण गाउँपालिका वडा नं. १ गोलटाकुरीदेखि दुई घन्टा पैदल हिडेर फूलखेती हेर्न आएका ६१ बर्षीय शाक्य खत्री पनि त्यही भेटिए।
‘हाम्रो ठाउँमा पनि मज्जाले फूलखेती हुने रहेछ भन्ने यसले पुष्टि भयो । अब म घरमा गएर छोराहरुलाई पनि फूलखेती गर्ने सल्लाह दिन्छु’, खत्रीले भने।
यसरी फूलखेती हेर्न आउने खत्री एक्ला होइनन्।
झन्डै १७ किलोमिटर टाढा तुलसीपुर बाजर क्षेत्र वडा नं. ६ बाट आएका ऋतिसा आचार्य र भिजन आचार्य दिदीबहिनी व्यवसायिक फूलको खेती देखेर दंग थिए।
आचार्यले दिदी बहिनीले तिहारमा प्राकृतिक फूलको माला नपाएर प्लाष्टिकको माला लगाउनु पर्ने अवस्थाको समेत यस्ता प्रयासहरुले अन्त्य गर्ने आशा व्यक्त गरे।
त्यस्तै बस्तु चौपाया चराउन आएका स्थानीय ६० वर्षीय तेजबहादुर बस्नेतले युवाहरुले पहिलो पटक गरेको व्यवसायिक फूलखेतीले धेरै स्थानीयलाई नयाँ ढंगले सोच्न बाध्य पारेको बताए।
यसरी स्थानिय र परपरका मानिसहरूलाई समेत आकर्षित गर्न सकेको यो फूलखेती पाँच जना युवाहरूले मिलेर सुरू गरेका हुन्।
तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल रिजाल, त्रिभूवन विश्वविद्यालयका सहयाक प्राध्यापक मनोज बस्नेत, तुलसीपुर सिटी हस्पिटलका प्रशासकिय अधिकृत हेमराज बस्नेत, ५ नं. प्रदेश ग्याँस व्यवसायी संघका सचिव सचिन पौडेल, तुलसीपुर फ्लोर मिलका सञ्चालक सन्दिपन रिजालले मिलेर सामुहिक जग्गा खरिद गरी पहिलो पटक फूलबारीमा व्यवसायिक फूल खेती गरेका हुन्।
उनीहरूले तिहारलाई लक्षित गरेर १ बिघा क्षेत्रफलमा ‘थाइल्याण्ड सोनम अरेञ्ज’ नामको सयपत्री खेती गरेका हुन्।
उनीहरूले यो काम सुरी गर्दा स्थानिय कसैले विश्वास गरेका थिएनन्।
‘यहाँ सुरुमा युवाहरुले फूलखेती गर्छौं भन्दा कसैले विश्वास गरेका थिएनन्,’ हेमराज बस्नेतले भने ‘तर जब आज एकैसाथ हजारौं फूलहरु फूलेको देखे बल्ल गाउँलेहरुले पुष्प खेतीबाट राम्रो आयआर्जन गर्न सकिने रहेछ भन्ने विश्वास गर्न थालेका छन्।’
फूलखेती सुरू गरेका बिनिल केसी।
उनीहरूको प्रयास सफल भएको देखेरे गाउँका धेरैले अर्कौ वर्षदेखि फूलखेती गर्नको लागि सल्लाह र छलफल गर्न थालेको उनले बताए।
‘हाम्रो ठाउँको नाम फूलबारी भन्ने त थियो,तर, फूलहरुको बगैचा थिएन, बल्ल आज फूलबारी भन्न लायक भएको छ,’ बस्नेतले खुसी साटे।
उनले काठमान्डौंबाट बिउ ल्याएर वेर्ना उत्पादन गरि गत भदौमा सयपत्री रोपेको जानकारी दिए।
‘हाम्रो उदेश्य आम्दानी गर्नु मात्रै हैन स्थानीयलाई विविध कृषिको संभावना उजागर गर्नुपनि हो। परम्परागत खेतीगर्दै आएका किसानले समेत त्यो हेरेर विश्वास गरुण भन्ने हाम्रो चाहाना हो,’ विनिल केसीले भने ।
उनले आफुहरुको चाहाना आफैले खेती गर्नु भन्दापनि अरुलाई सिकाउनका लागि त्यसो गरेको बताए। उनले सोही ठाउँमा एकजना कृषि विज्ञलाई राखेर च्याउ उत्पादन केन्द्र समेत स्थापना गरिएको बताए।
‘हामीलाई तुलसीपुर बजारमै व्यवसाय गर्न भ्याई नभ्याई छ। जहाँ पैसा पनि राम्रै छ,’ केसीले थपे ‘हामी विकट मानिने गाउँमा गएर फूलखेती र च्याउको व्यवसायिक खेति गर्नुको कारण स्थानीयलाई परिवर्तन गराउनु प्रमुख उदेश्य हो।’
गत वर्षदेखि पहिलो पटक जिल्लाको घोराहीमा फूलको व्यवसायिक खेति सुरु भएको हो। रोल्पाबाट आएका मानिसहरुले जग्गा भाडामा लिएर मिलेर घोराहीमा पहिलो पुष्प खेती सुरू गरेका थिए। त्यसको सिको गर्दै जिल्लाका विभिन्न स्थानमा यो वर्ष पुष्पखेती भएका छन्।
बाघमारेमा काँग्रेस सचिवको पुष्प खेती
नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगी पनि पश्चिम दाङमा पुष्प खेती गरेका छन्। शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारेमा १० कठ्ठा क्षेत्रफलमा सचिव डाँगीले लगाएको फूल आज ढकमक्क फूलेको छ। घोराही निवासी सचिव डाँगीले बाघमारे स्थित आफ्नै जग्गामा पहिलो पटक पुष्प खेति गरेको जानकारी दिए। चितवनबाट १० हजार फूलको बोटहरु ल्याएर लगाएको र त्यसमा झन्डै ७ क्विन्टल जति फूल तयार भएको जानकारी दिए। एक दुई दिनमै फूलहरु टिप्न सुरु हुने र बिक्रीका लागि बजार पठाउने सचिव डाँगीले योजना सुनाए।
बजारको चिन्ता
तुलसीपुर १३ फूलबारीमा तयारी अवस्थामा रहेका सयपत्री फूलहरु यो बीचमा ८४ किलो सुर्खेतमा विक्री भएको छ। झन्डै ५ सय केजी जति फूलका थुङ्गाको माग काठमाडौंबाट आएको विनिल केसीले बताए। बुटवल र नेपालगञ्जबाट पनि फाट्ट फुट्ट रुपमा माग आएपनि त्यो प्रयाप्त छैन।
विनिल केसीका अनुसार फूलबारीमा रहेको उनीहरूको बगैचामा अझैं १० गुना बढी तयारी फूलहरु छ। निकै आकर्षक ‘थाईल्याण्ड सोनम अरेञ्ज’ जातको सयपत्री फुल किलोको फुटकरमा २ सय ५० र थोकमा उठाउँदा मुल्यमा केही सस्तोमा विक्री हुँदै आएको छ।
तर उचित बजार नपाएको खण्डमा हजारौंको संख्यामा तयार भएको फूल त्यसै खेर जाने खतरा विनिल केसीले औंल्याए।
‘हामी कहाँ बरु महंगो हालेर आयातित प्लाष्टिककै फूल लगाउने,तर, प्राकृतिक फूल नखोज्ने प्रचलन पनि छ,’ केसीले भने ‘अब सबैले स्थानीय उत्पादनलाई प्रोत्साहान गर्नु पर्छ । प्राकृतिक फूलको माला नै लगाउने प्रयास सबैको हुनुपर्छ।’
नेपाली काँग्रेसका सचिव शंकरप्रशाद डाँगीले पनि उत्पादित फूल कहाँ बेच्ने भन्ने चिन्ता जाहेर गरे।