तिहारपछि अधिकांश तरकारीको मूल्य घटेको छ। कालिमाटी तरकारी बजारको मूल्यअनुसार तिहारपछि अघिकाशं तरकारीको मूल्य घटेको देखिएको हो।
यसबीचमा सबैभन्दा बढी डल्ले च्याउको मूल्य घटेको छ। गत कात्तिक ३१ मा ५ सय २५ रुपैयाँ प्रतिकेजी पुगेको च्याउ बुधबार केजीकै ३ सय ६० रुपैयाँ घटेर १ सय ६५ रुपैयाँ पुगेको छ।
सोही अवधीमा गोलभेडाको मूल्य ४० रुपैयाँ घटेको छ। १ सय ६५ रुपैयाँ पुगेको ठुलो गोलभेडा १ सय २५ रुपैयाँमा झरेको छ। सानो गोलभेडाको मूल्य भने ३० रुपैयाँले घटेर प्रतिकेजी ९५ रुपैयाँ भएको छ।
यस्तै रातो आलुको मूल्य पनि घटेको छ। ७५ रुपैयाँ पुगेको आलु १० रुपैयाँ घटेर ६५ रुपैयाँ पुगेको छ।
गाजर, काउली, घिउसिमी, तितेकरेला, भन्टा तथा मूलाको मूल्य पनि औशतमा प्रतिकेजी २० रुपैयाँका दरले घटेका छन्।
यस्तै, सागको मूल्यमा पनि भारी गिरावट आएको छ। अहिले रायो तथा तोरीकोको साग प्रति किलो ६५ रुपैयाँ, पालूंगो, मेथी र चमसुरको साग १ सय १५ रुपैयाँमा झरेको छ।
तर, जिरीको साग भने एक किलोमा १० रुपैयाँले बढेको छ।
यस्तै, हरियो प्याज १ सय ९५ रुपैयाँबाट घटेर १ सय ५५ रुपैयाँ पुगेको छ ।
यसबीचमा सुकेको प्याजको मूल्य भने बढेको छ। गत हप्ता १ सय ५ रुपैयाँ प्रतिकेजी रहेको प्याजको मूल्य बुधबार १ सय ३८ रुपैयाँ पुगेको छ।
यस्तै, लोकल बन्दाको मूल्य ४० रुपैयाँले बढेको छ। तिहारअघि ६५ रुपैयाँ खुद्रा मूल्य रहेको लोकल बन्दा अहिले १ सय ५ रुपैयाँ प्रतिकेजीले बिक्री भइरहेको छ।
तरकारीको मूल्य घटेपनि फलफूलको मूल्य भने स्थीर रहेको छ।
तिहारपछि केरा दर्जनमा १० रुपैयाँ तथा भारतीय सुन्तलाको मूल्य १० रुपैयाँ घटेपनि बाँकी सबै फलफूलको मूल्य भने स्थीर रहेको कालिमाटी तरकारी बजारले जनाएको छ।