रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिऊ वितरण गर्न सुरु गरेको छ।
नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु गरिएको हो।
नगरपालिकाले गत वर्ष पनि गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिएको थियो।
नगर प्रमुख बासुदेव घिमिरेले किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिऊमा अनुदान दिइएको बताए।
किसानलाई आवश्यक गहुंको विऊको परिमाण संकलन गरेर भलबारी दल्का स्थित कृषि सेवा केन्द्रमार्फत् बिऊ वितरण गरिएको हो।
नगरपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिऊको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो।
नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिऊ उपलब्ध गराएको हो।
गहुँ वितरणको व्यवस्थापन कृषि शाखा र कृषि व्यवसाय प्रवद्र्धन समितिको सहकार्यमा भएको छ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले गत वर्ष ५२ मेट्रिक टन गहुँको बिऊ वितरण गरिएकोमा यसवर्ष १ सय ४५ मेट्रिक टन माग रहेको बताए।
नगरप्रमुख घिमिरेले वडा नं. ११ मृगौलीका विश्राम कुँवर र रामलगन यादवलाई एक-एक बोरा बिऊ उपलब्ध गराएर कार्यक्रमको शुभारम्भ गर्दै बिऊको सदुपयोग गरी कृषि उत्पादन बढाउन किसानहरुलाई आग्रह गरे।
गत वर्ष अनुदानमा उन्नत जातको बिऊ दिएकाले गहुँ उत्पादन २० प्रतिशतले बढेको कृषि शाखा अधिकृत जीवन आचार्यले दाबी गरे ।
तिलोत्तमाको वडा नं. १३, १४, १६, १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ।