सरकारले कफीको न्यूनतम मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालू आर्थिक वर्ष ०७६/७७ का लागि काँचो कफीको न्यूनतम मूल्य तोकेको हो।
बोर्डले फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको ग्रेड ए र बी मा वर्गिकरण गरी मूल्य तोकेको छ।
बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको छ। ८ सय मिटरभन्दा माथि प्रांगारिक पद्दतिअनुसार उत्पादन गरिएको ठिक्क पाकेको, पानीमा नडुब्ने चेरीलाई बोर्डले ग्रेड ‘ए’ मानेको छ। त्यस्तै, फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ।
पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य रु ४२५ रहेको छ। ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको पार्चमेन्टलाई ग्रेड ‘ए’मानेको छ। त्यस्तै ग्रेड ‘बी’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड ‘बी’ मानेको छ। यसको मूल्य प्रतिकेजी ३७५ तोकेको छ।
ड्राइचेरी कफी ग्रेड ‘ए’ को न्यूनतम मूल्य प्रतिकेजी १४० र ग्रेड ‘बी’ को ९० तोकिएको छ। ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ११ प्रतिशत चिस्यानसहितको ड्राइ चेरी ग्रेड ‘ए’ र ‘बी’ गुणस्तरबाट उत्पादित चेरीलाई बोर्डले ग्रेड ‘बी’ माानेको छ।
सरकारले तोकेको मूल्य अनुसार कारोबार गर्न बोर्डले व्यापारीलाई आग्रह गरेको छ।