तुलसीपुरका एक युवाले बट्टाई पालेर राम्रो आम्दानी गर्दै आएका छन्।
तुलसीपुर उपमहानगरनपालिका वडा नं. ५ का ३६ बर्षीय मनोज श्रेष्ठले घरको छत र आगनको खाली जमिनमा बट्टाई पाल्न सुरू गरेयता मासिक ४० देखि ४५ हजारसम्म बट्टाई बेच्दै आइरहेका छन्।
उनले सामाजिक सञ्जालबाट आफूले पालेका बट्टाईहरू बेच्ने गरेका छन्।
यसका लागि उनले ‘बट्टाई दाङ तुलसीपुर’ नामक फेसबुक पेज खोलेका छन्। ग्राहकहरुले सोही पेजबाट बट्टाई र बट्टाईका अण्डा किन्न घरसम्म आइपुग्छन् ।
‘ग्राहक खोज्न कतै जानु पर्दैन, घरमै आउँछन् बरू माग अनुसार बट्टाई पुर्याउनै सकिरहेको छैन,’ श्रेष्ठले भने।
गत वैशाखदेखि श्रेष्ठले बट्टाई पाल्न सुरु गरेका हुन्। हाल उनीसँग साना-ठूला गरी सात सय बट्टाई छन्। अघिल्लो महिना श्रेष्ठसँग घरमा १ हजार ६ सय जति बट्टाई थिए।
‘७० प्रतिशत बट्टाई बेचिसकें,’ श्रेष्ठले भने ‘अधिकांश दाङमै खपत हुन्छ, बाहिरी जिल्लाबाट पनि आउँछन्।’
एक जोडी बट्टाई साढे ३ सयमा बिक्री हुन्छ।
बिक्रीका लागि हालसम्म कुनै होटलहरूमा सोधखोज गर्दै हिँड्नुनपरेको उनी सुनाउँछन्।
‘फेसबुक पेजमा ग्राहकहरुले सम्पर्क गरि राख्नु हुन्छ,त्यसमा मैले सम्पर्क नम्वर पनि राखेको छु। त्यसैका आधारमा ग्राहक आउँछन् र किनेर लैजान्छन्,’ श्रेष्ठले भने ।
श्रेष्ठले बट्टाईका चल्ला आफैं ह्याच गर्छन्। त्यसैले खान र पाल्नका लागि बट्टाई खोज्नेहरु घरमै आइपुग्छन्।
फेसबुकका कारण श्रेष्ठको व्यापार तुलसीपुरमा मात्रै सिमित छैन। बाँकेको नेपालगञ्ज, सुर्खेत, सल्यान र रुकुमसम्म पनि विस्तार भएको छ।
‘डिमान्ड त धेरै ठाउँबाट आउँछ,तर सबै ठाउँ पुर्याउन सकिदैन,’ श्रेष्ठले थपे ‘मैले बाँके,सल्यान, रुकुम सम्म पठाउन सकेको छु,सर्खेतमा भने पठाउन सकेको छैन।’
बट्टाई पालन सुरू गर्नुअघि श्रेष्ठ तुलसीपुरमा फेन्सीको व्यापार गर्थे तर उनको मन त्यसमा जमेन। उनले पसल बेचिदिए।
पसल बेचेपछि त्यसैबस्न उनको मनले मानेन। नयाँ संभावनाको खोजी गर्दै जाँदा उनले बट्टाई पालन एउटा विकल्प हुने निष्कर्षमा पुगे।
त्यो भन्दा पहिला श्रेष्ठले घरमा लोकल कुखुरा पाल्न सुरु गरिसकेका थिए। उनको घरमा अहिले पनि बदिया भाले, फाईटर कुखुरा र राम्रै मुल्यमा विक्री हुने कडक नाथ (बल्याक चिकेन)जातको कुखुरा पालिरहेका छन्।
कुखुरा व्यवसाय विस्तार गर्ने क्रममा उनले स–साना खोरहरु पनि श्रेष्ठले निर्माण गरे। श्रेष्ठलाई भने अझैं नयाँ केही गर्न सकिन्छ कि, भन्ने विचारले लेखेटी रह्यो। तर के गर्ने?
उनलाई दुविधामा थियो।
उनी बट्टाई व्यबसायिक रुपमा पाल्न सम्भव हुन्छ वा हुँदैन भन्ने परीक्षण गर्न चाहान्थे। त्यसैका लागि उनले एकसय अण्डा काठमाडौंबाट किनेर घर ल्याए। कुखुरा पाल्न सुरु गर्दा नै श्रेष्ठले ह्याच मेसिन जोडी सकेका थिए।
‘संधै कति अण्डा खानु,ह्याच गरेर चल्ला उत्पादन गर्ने सोच भयो,’श्रेष्ठले भने ‘त्यसमा बट्टाईको अण्डा राखेर परिक्षण गरे राम्रो बच्चा निस्कियो।’
त्यसले उनमा बट्टाईप्रति विश्वास बढ्यो।
सुरुमा घरमै खाउँला भनेर पालेर हेरे । तर ती बट्टाईले पनि अण्डा दिन थाले।
‘सुरु सुरुमा बट्टाई अण्डा घरमै खाए। त्यो पनि कति खानु? ह्याच गरेर हेरे। राम्रो बच्चा निस्कियो। त्यसपछि म विश्वस्त भए र बट्टाई पाल्ने निष्कर्षमा पुगेको हुँ,’ श्रेष्ठले भने।
त्यसपछि बल्ल उनले ‘बट्टाई दाङ तुलसीपुर’ भन्ने फेसबुक पेज निर्माण गरे।
बट्टाई पाल्न कुखुरा पाल्न जस्तै झमेला गर्नुपर्दैन । त्यति हेरचाह पनि चाहिदैन। रोगपनि लाग्दैन। औषधी पनि चाहिदैन। घरको छत वा कौसी र घरको आँगनको सानो ठाउँमा पनि खोर बनाएर सजिलै बट्टाई पाल्न सकिने श्रेष्ठले बताए।
तर सानो बच्चा छँदा बट्टाईलाई पानी र चिसो बाट जोगाउनु पर्ने कुरा श्रेष्ठले जानकारी दिए।
‘जन्मेको १५-२० सम्म अलि ख्याल गर्नु पर्छ। कुखुराको बच्चालाई जस्तै बल्ब बालेर अलि तातो बनाइ राख्नु पर्छ,’ श्रेष्ठले भने।
बट्टाईको चल्लाले जन्मेको एक ढेड घन्टा मै दाना खान सुरु गरि सक्छ। सुरुको दिनदेखि २५ दिनसम्को बच्चालाई ब्रोईलरको जिरो नम्वरको दाना खुवाउनु पर्ने र त्यसपछि लेयर्स कुखुरालाई खुवाउने एल थ्री दाना खुवाउन सकिने श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार ३९ दिनदेखि नै पोथी बट्टाईले अण्डा दिन सुरु गर्छ। तर दुई महिना पालेपछि एउटा बट्टाई विक्रि गर्न उपयुक्त हुने श्रेष्ठले बताए।
एउटा वयष्क बट्टाईले दैनिक २० देखि ३० ग्राम दाना चाहिन्छ। आफुले विहान र बेलुका गरि दुई पटक दाना दिदैं आएको उनले बताए।
श्रेष्ठको हाल दैनिक एक सय ५० देखि एक सय ८० सम्म बट्टाईको अण्डा उत्पादन हुँदै आएको छ।
उनले एउटा अण्डालाई दश रुपैंयामा बेच्दै आएका छन्। उनले आफैले घरमा ५ वटा जति ह्याचरी मेसिन पनि निर्माण गरेका छन्। हाल उनी हप्तामा दुई पटक बच्चा निकाल्छन्।
दुईदेखि चार दिनसम्मको एउटा बच्चालाई ५० रुपैंयामा विक्रि गर्ने गरेको उनले जानकारी दिए।
‘धेरै ठाउँपनि चाहिदैन,१०० वटा कुखुरा पाल्ने ठाउँमा १००० वटा बट्टाई मज्जाले पाल्न सकिन्छ,’ श्रेष्ठले भने।
बट्टाई पाल्न चाहेनेहरुले खोर निर्माण गर्दा विशेष ख्याल भने गर्नु पर्दौ रहेछ।
खोर १५ इञ्च जति हाइटको, चौडाई दुई फिट र लम्वाई भने आवश्यकता अनुसार बनाउन सकिने श्रेष्ठले सुझाए।
धेरै हाइटको खोर बनाए बट्टाई उड्दा घाइते हुने तथा मर्न सक्ने खतरा रहने उनले बताए। श्रेष्ठले बट्टाई पाल्न मसिनो जाली हालेर घरको छत र आँगनमा ट्रष्ट हालेर खोर निर्माण गरेका छन्।
खोर बनाउँदा झन्डै डेढ जति लाख खर्च लागेको उनले जानकारी दिए। डेढ लाख खर्चेर निर्माण गरेको खोरमा आज मासिक ४५ हजार सम्मको बट्टाई बेचविखन गरिरहेका छन्।
बट्टाई धेरैका लागि सानो ठाउँमा, सानो पूँजीमा र थोरै मेहनतमा राम्रो आर्जन गर्न सकिने एउटा उपयुक्त व्यवसाय बन्न सक्ने श्रेष्ठले बताए।
श्रेष्ठले भने ‘बजार राम्रो छ , हालसम्म ग्राहक खोज्नुपर्ने र टेन्सिन लिनुपर्ने अवस्था आएको छैन।’
भविष्यमा बट्टाई मात्रै पाल्ने मनस्थितिमा श्रेष्ठ छन्। बट्टाई पालेर थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने देखेकाले उनमा यस्तो सोच पलाएको हो।