चोभारमा बन्दै गरेको आधुनिक फलफूल तथा पुष्प बजार निर्माण तथा सञ्चालनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने भएको छ।
विश्व बैंकको सहयोगमा कृषि व्यवसायी तथा ब्यापार आयोजना (प्याक्ट) को समयावधिमा कार्य सम्पन्न नभएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बाँकी काम र सञ्चालनका लगि कालिमाटीलाई दिने भएको हो।
चोभारको फलफूल बजार बाहिरी चक्रपथमा परेकाले काम लम्बीएपछि प्याक्टले आफ्नो समयाबधीमा गर्न नसके पछि त्यसको जिम्मेवारी कृषि मन्त्रालयले लिएको हो।
बजार निर्माण सम्पन्न भएपछि सञ्चालनका लागि कालिमाटीलाई दिने हुनाले निर्माणको काम पनि कालिमाटीलाई नै दिन लागेको कृषि मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए।
‘बाँकी निमार्णको काम र सञ्चालनको लागि कालिमाटीलाई दिन अर्थ मन्त्रालयमा कागजजात पेश गरिसकेका छौँ’, प्रवक्ता केसीले भने, ‘उताबाट केही प्रतिक्रिया आएको छैन।’
उक्त निवेदन अर्थमन्त्रालयबाट स्वीकृत भएर आएपछि बाँकी निर्माणका लागि कालिमाटीलाई रकम दिइने उनले बताए।
मन्त्रालयको अनुसार बजार निर्मार्णको काम हालसम्म ६५ प्रतिशत सकिएको छ। निमार्ण व्यवसायीले भेरियसनका लागि मन्त्रालयमा पठाएको प्रस्तावको कुनै प्रतिक्रिया नआएपछि निमार्णको काम सुस्त भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
‘सय डेढसय कर्मचारीले काम गर्नुपर्ने ठाउँमा अहिले १५/२० जना कर्मचारीले मात्र काम गरेका छन्’, स्रोतले भन्यो, ‘सार्वजनिक खरिद नियम अनुसार यसको समय पुसमा सकिँदै छ। अब पनि फटाफट काम भएन भने यो वर्ष पनि सञ्चालमा आउँदैन।’
बजार निर्माणका लागि कालिमाटीलाई दिने प्रस्तावको अर्थमन्त्रालयबाट केही प्रतिक्रिया नआएकाले भेरियसनको काम अड्किएको प्रवक्ता केसीले जानकारी दिए।
यस अघिको खर्च विश्व बैंकले गरेको थियो भने अबको खर्च नेपाल सरकारले गर्नेछ। यसको लागि १५ करोड रूपैयाँ बजेट छुट्याइएको मन्त्रालयले बताएको छ।
पुष्प तथा फलफूलबजार बजार करिब २२ रोपनी जग्गामा अन्डर ग्राउन्ड पार्किङ सहितको बन्ने छ।
बजार निर्माणको प्रक्रिया सुरू भएको करिब ४ वर्ष भयो।