कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले गरिबीको दुष्चक्र कृषिले मात्रै तोड्न सक्ने बताएका छन्। उनले कृषि क्षेत्रको श्रमलाई न्याय गर्न सके कृषिमा परिवर्तन सुरु हुने बताए।
‘परम्परागत कृषिमा जसरी श्रम खेर गइरहेको छ, किसानहरुको स्तर वृद्धि गर्नेगरी काम गर्न सक्ने हो भने कृषिमा राम्रो प्रगति हुन्छ, यसका लागि बढी मेहनत आवश्यक छ’ रुपन्देहीको तिलोत्तमामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भुसालले भने।
उनले कृषि क्षेत्रमा विचौलियाको मनोमानी र दलाल पुँजीवादी प्रवृति हटाउनु पर्ने बताए। आफ्नो गृह नगर तिलोत्तमाबाट नै समाजवादको सुरुवात गर्ने दावी गर्दैै मन्त्री भूसालले समाजवाद समृद्धिको अर्को नाम भएको बताए।
कृषि मन्त्री आफैले रोजेको पद भएको भन्दै उनले कृषिमा केही गर्ने दृढताका साथ योजना बनाइरहेको र बोल्ने भन्दा काम गरेर देखाउने बताए । ‘म मन्त्री भएपछि कम बोल्ने गरेको छु, धेरै बोलियो अबको समय काम गर्ने हो।’
उनले संसारकै इतिहासमा दुई तिहाईको कम्युनिष्ट शासन नेपालमा रहेको उल्लेख गर्दै त्यसकारण पनि समाजवादको ग्यारेन्टी गर्ने गरी अघि बढ्नुपर्ने बताए । पार्टी र सरकारबीचको समन्वय र सहकार्य विना सफलता प्राप्त हुन नसक्ने उनको तर्क छ। ‘कार्यविभाजनले त्यो संकेत गरिसकेको छ, त्यसलाई थप घनिभूत बनाउनुपर्छ’ उनले भने।