ह्याचरी उद्योग संघले कुखुराका चल्ला र अण्डा नष्ट गरेका छन्। उत्पादन बढी हुँदा किसानले मूल्य पाएनन् भन्दै संघले चल्ला र अण्डा नष्ट गरेका हुन्।
बजारलाई व्यवस्थित गर्न चल्ला र अण्डा नष्ट गरेको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए।
किसानले कुखुराको मूल्य पाएका छैनन्, यसलाई व्यवस्थित गर्न हामीले चल्ला तथा अण्डा नष्ट गरेका हौँ,’ उनले भने, ‘अहिले प्रतिहप्ता ३० लाख चल्लाको माग छ, उत्पादन ४५ लाख हुन्छ। यसले बजार व्यवस्थापन गर्न मद्यत गर्छ।’
मङ्सिर २९ देखि पुस ८ गतेसम्म संघले चल्ला उत्पादन नगर्ने घोषणा गरेको छ। १० दिनमा हुने ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको कृत्रिम अभाव सृजनाभई मूल्य बढ्ने देखिन्छ।
पुस २ गते सम्ममा उद्योगले १५ करोड रूपैयाँ बराबरको ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरेका छन्।
काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको हो।
यसरी चल्ला तथा अण्डा नष्ट गर्नु पशुपंक्षी ऐन विपरित भएको सरोकारवालाको तर्क छ। संघको यस्तो कदमले केही समय किसान खुशी भएपनि यसले दीर्घकालीन नहुने किसान अभियन्ता बताउँछन्।
संघले किसानको हितको लागि काम गरेको भए चल्ला तथा अण्डा नष्ट गर्नुभन्दा पनि किसानलाई केही सस्तोमा दिनुपर्ने किसान अभियन्ता उद्धव अधिकारीले बताए।
कुखुराको बजार व्यवस्थित गर्न संघले पहिल्यै योजना बनाएर अघि बढ्नुपर्ने उनको तर्क छ।
उत्पादन गर्ने, नष्ट गर्ने, मूल्य तोक्नमा उद्योगी तथा व्यापारीको एकलौटी निर्णय भएकाले यसमा राज्यको उपस्थिति हुनपर्ने उपभोक्ताकर्मी बताउँछन्।
सरकारले जसरी अन्य सामानको समर्थन मूल्य तोकेको छ त्यसरी नै कुखुराको मासूको मूल्य पनि तोक्नुपर्ने उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए।