कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि विना देश समृद्ध नहुने बताएका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका’ विषयक अन्र्तक्रियामा मन्त्री भुसालले कृषिको समस्या नसुल्झ्याइकन मुलुक विकसित नहुने बताएका हुन्।
मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरि कसरी रोजगारी सृजना गर्न सकिन्छ त्यसबारे निजी क्षेत्रको राय माग गर्दै सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा लागि पर्ने बताए।
निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण केही क्षेत्रका समस्या औँल्याउँदै उनले समाधानका लागि एकिकृत रुपमा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताए।
आर्थिक उपार्जन गर्ने कृषि क्षेत्र बलियो नभै मुलुक विकसित नहुने उनको भनाइ छ। साथै कृषिमा परम्परागत सोच, शैली र व्यवहारमा समेत परिवर्तन गरि यसलाई रोजगारमूखी बनाउनुपर्ने बताए।
सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषिकर्जाको सहज, सरल र सस्तोमा उपलब्धता हुनु पर्ने उल्लेख गरे। उनले कृषि विज, विउहरु खरीद गर्न सस्तो सुलभ र सहुलियतपूर्ण व्यवस्था हुन सरकारले अनुदान दिनु पर्ने बताए।
चेम्बर समितिका सभापति कृष्णमान श्रेष्ठले कृषि क्षेत्रमा सस्तो ब्याजदर, बजारीकरण, श्रम लागत श्रमिकले आफै लिन सक्ने, नार्कको भूमिका, प्राइभेट लिमिटेडमा आयकर छुट दिनुपर्ने, अनिवार्य प्यानको व्यवस्था कृषिमा हट्नुपर्ने, बीमा कृष मैत्री हुनुपर्ने, कृषि कर्जाको संरक्षण हुनुपर्ने सुझाब पेश गरे।
सो अवसरमा चेम्बरका पदाधिकारी, कृषि समितिका सदस्यहरु, कृषि उद्यमी व्यवसायी र निजी क्षेत्रका सरोकारवालाहरुले समेत आफ्नो सुझाब पेश गरेका थिए ।