उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले डेढ साताभित्रै चिनी उद्योगीले उखु किसानको पैसा दिने प्रतिवद्धता गरेको बताएका छन्।
मंगलबार उद्योग मन्त्रालयमा भएको छलफलमा उद्योगीले किसानको पैसा दिने प्रतिबद्धता गरेको मन्त्री भट्टले जानकारी दिए।
‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिल्सका मालिक राकेश अग्रवाल र वीरेन्द्र कनौडियाले एक-डेढ साताभित्र पैसा दिने मसँग प्रतिवद्धता गरेका छन्,’ मन्त्री भट्टले भने, ‘लुम्बिनी सुगर मिल्स भने पारिवारीक समस्याले गर्दा सम्पर्कमा आएको छैन।’
मन्त्री भट्टका अनुसार लुम्बिनी सुगर मिल्सका मालिकको मृत्यु भएकाले उनको परिवारसँग सम्पर्क गराइदिन मन्त्रालयले गृहलाई भनेको छ।
श्रीराम सुगर मिल्स अहिले बन्द छ। मिल मालिकले मिल सञ्चालनमा ल्याएर बैंक र किसान दुबैको पैसा दिने भनी मन्त्रालयमा पत्र लेखेको मन्त्री भट्टले जानकारी दिए।
मन्त्री भट्टले किसानको समस्या जसरी पनि हल हुने बताए।