उखुको पैसा दिलाउनेबारे सरकारले लिखित प्रतिवद्धता नजनाएसम्म किसानले विरोध प्रदर्शन जारी राख्ने भएका छन्।
मौखिक प्रतिवद्धता पटक–पटक आएर पनि कार्यान्वयन नभएकोले यो पटक लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने किसान संघर्ष समितिका सचिव हरिश्याम रायले जानकारी दिए।
‘हामीलाई यस्ता आश्वासन धेरै आए तर पैसा भने दिएनन्, कि पैसा आओस् कि सरकारले लिखित पत्र दिएपछि मात्र हामी फर्कंन्छौं,’ रायले सेतोपाटीसँग भने।
समयमा भुक्तानी नपाउँदा उखु खेती गरेको जग्गाको भाडा बुझाउन पनि ३६ प्रतिशत ब्याजमा ऋण लिन परेको किसानहरूले गुनासो गरे।
बुधबार सरकारले आन्दोलनरत किसानसँग वार्ता गरेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको किसान र उद्योग मन्त्रालयको छलफलमा आफ्ना ११ बुँदे माग राखेका थिए।
किसानहरू मारमा परेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुस २५ गतेसम्म ८० प्रतिशत र मागको पहिलो सातासम्म सबै रकम भुक्तानी गर्न निर्देशन दिएका थिए।
उखुको पैसा पाउँ भन्दै किसान माइतीघरमा प्रदर्शन गरिरहेका छन्।