उखु किसानको भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिइसकेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माइतिघरमा आन्दोलन गरेका किसानलाई घर फर्कन आग्रह गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर बोल्दै सरकारका तर्फबाट मन्त्री भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा आफै उपस्थित हुने प्रतिवद्धता जनाए।
अन्नपुर्ण सुगर र इन्दिरा सुगर मिलका सञ्चालक राकेश कुमार अग्रवाल मन्त्रालयको टेलिफोन सम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिलले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बकौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको मन्त्री भट्टले जानकारी दिए। त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको उनले बताए।
मन्त्रालयको निर्देशन अनुसार माघको पहिलो सातासम्म उखु किसानको सम्पुर्ण बक्यौता चुक्ता गर्न निर्देशन भएको, यस बर्ष को उखु तत्काल खरिद गरी मिल संचालन गर्न तथा भुक्तानी नगरेको मिलको कारोबार रोक्का राखिने व्यहोरा सबै मिललाई जानकारी गराइएको भट्टले बताए।
उखु किसानलाई सरकारले दिने भनी घानेषणा गरेको अनुदान रकम पर्याप्त र सहज तरिकाले उपलब्ध हुने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा सहजीकरणका लागि अनुरोध गरिएको उनको भनाइ छ।
उखु किसान र चिनी मिल सञ्चालकबीच वर्षौदेखि देखिएको समस्याको दिगो समाधानका लागि सरोकारवाला मन्त्रालयका पदाधिकारी, उखु किसान र चिनी मिलका प्रतिनिधिसहित विज्ञ समेत रहने गरी समिति गठन गरिएको र सो समितिलाई १५ दिन भित्र प्रतिवेदन दिन भनिएकाले प्रतिवेदनअनुसार सरकार अघि बढ्ने उनले बताए।
मन्त्रीका अनुसार, समितिलाई उखु दिने वित्तिकै भुक्तानी किसानकै खातामा रकम जम्मा हुने स्वचालित पद्दति सिफारिस गर्ने, तौलमा हुने अनियमिता रोक्ने, विचौलियाको प्रभाव र खरिद प्रक्रियालाई सहज र पारर्शी बनाउने, उखु किसानको बाँकी बक्यौताको रकम एकीन गर्ने, उखु किनबेचलाई सबै कोणबाट व्यवस्थित बनाउनेगरी सरकारलाई सिफारिस गर्न भनिएको छ।