रौतहटको माटो उखु खेतीको लागि उपयुक्त छ। माटो उपयुक्त भएका कारण यहाँ उखुको उत्पादन राम्रो हुन्छ। उत्पादन राम्रो हुनु भनेको प्रतिकठ्ठा क्षेत्रफलमा बढी तौलको उखु फल्नु र उखुमा चिनी वा मिठा (सखर)को मात्रा बढी हुनु हो।
उखु रोप्ने बेला र उखु काट्ने बेलामा अत्यधिक श्रम आवश्यक पर्ने तथा अन्य समयमा उति धेरै श्रम गर्नु नपर्ने उखु खेतीको विशेषता हो। चिनी उद्योगलाई उखु बेचेर एकमुष्ठ नगद प्राप्त हुने तथा नगदले कुनै ठूलो व्यवहार चलाउन सजिलो हुने भएकोले किसानले उखु खेती गर्ने गरेका छन्।
तरकारी तथा अन्न बालीमा परिश्रम र लागत दुवै बढी हुने तर उखु खेतीको तुलनामा किसानलाई आय आर्जन कम हुने भएकोले पनि किसानको आकर्षण उखु खेतीतर्फ छ।
उखु खेतीमा सरकारले पनि अनुदान दिने गरेको छ। किसानले खेतमा उत्पादन गरिसकेको उखुलाई समयमै कतै बेच्न पाएनन् भने खेती नै नष्ट हुने र सम्पूर्ण लागतका साथै किसानको एक वर्षको समय खेर जाने भएकोले यो संवेदनशील खेती पनि हो।
किसानले उत्पादन गरेको उखु समयमा बेच्नैपर्ने बाध्यता भएका कारण सखर उद्योग वा चिनी मिललाई एकै पटक धेरै परिणामा किन्नुपर्ने बाध्यता पनि छ। तर चिनी मिलले रकम उधारो राख्ने गरेको पाइन्छ। भुक्तानी दिन आनाकानी गर्ने गरेका छन्।
उखु खेतीले किसान समृद्ध हुने भएकाले सरकारले यस खेतीको व्यवस्थापनको लागि उचित कदम चाल्नुपर्ने देखिन्छ। रौतहट लगायत तराई भेगमा नगदेबालीको रुपमा परिचित उखुको उचित मूल्य र समयमा भुक्तानी पाउन नसकेका कारण किसानले सखर उद्योगमा सस्तो मूल्यमा उखु बिक्री गर्न बाध्य हुँदै आएका छन्।
गरुडामा रहेको श्रीराम सुगर मिलले एक पटक लिएको उखुको तीन वर्षसम्म भुक्तानी गर्न नसक्नु र उखुको मूल्य समेत निर्धारण नहुनुले किसानले चिनी मिलको विकल्प खोज्न थालेका हुन्।
सखर उद्योगले भने नगदमै उखु गरिद गर्ने गरेका छन्। सखर उद्योग संचालकले प्रति क्विन्टल ५ सय ३५ मा उखु खरिद गर्दै आएका छन्।
गरुडा, समनपुर, दिपही, बिजयपुर, सग्रामपुर, सुन्दरपुर, लगायतका स्थानहरुमा सखर बनाउने दर्जनौ उद्योगहरु स्थापना भएका छन्।
गरुडामा रहेको श्रीराम सुगर मिल्सले गत तीन वर्षको ३७ करोड रकम किसानलाई भुक्तानी गर्न बाँकी छ। रौतहटमा १४ हजार भन्दा बढी किसानले यस वर्ष ३६ हजार हेक्टर भन्दा बढी जमिनमा उखु लगाएका छन्। चिनी मिलले नलिए पनि सखर उद्योगमा उखु नगदमा बेच्न पाउने उनीहरुको आश छ।
सरकारले भारतबाट आउने चिनीमा २५ प्रतिशत भन्सार वृद्धि गर्नुका साथै कोटा निर्धारण गरेपछि रौतहटका किसानहरु खुसी देखिए। तर चिनी मिलले गर्ने व्यवहारमा भने यसले कुनै परिवर्तन हुन पाएन।