बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई जिल्ला तोकेर बाली तथा पशुपंक्षी बीमाका लागि काम गर्न निर्देशन दिएको छ।
बाली तथा पशुपंक्षी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरूलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले ७७ जिल्लामा तोकेरै बीमा कम्पनीहरूलाई जान निर्देशन दिएको बताए।
काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन्।
उनले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरूलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए।
त्यस्तै समितिले बीमा कम्पनीहरूलाई गाउँगाउँमा घुम्ती सेवामार्फत् कृषि, बाली तथा पशुपंक्षी बीमासम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ।
समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताए।
‘तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ’, अध्यक्ष चापागाईंले भने, ‘यसबाट कृषि बीमाको पहुँच सबै ठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत हुनेछ।’
यो अभियानले बीमको पहुँच बढ्ने समेत बताए।
सरकारले कृषि तथा पशुपंक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ।
कुन बीमा कम्पनी कुन जिल्लामा