कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले नेपालको उच्च शिक्षालाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
नेपालमा कृषिसम्बन्धि अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको भन्दै उनले विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषि कर्मसँग जोड्नुपर्नेमा जोड दिए।
सांसद प्रमिला कुमारीले नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु पर्याप्त नभएको गुनासो गरेकी थिइन्। जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर विश्वविद्यालय र कलेजको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए।
बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुुसालको भनाई छ।
मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताए। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भुसालले बताए।