नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका कर्मचारीको लापरवाहीका कारण पर्सा, विन्दवासिनी गाउँपालिका ४ मधवलका किसानको मसुरो बाली नष्ट भएको छ।
सिँचाइ कार्यालयका कर्मचारीले नहरको क्षमताभन्दा बढी पानी छाडेका कारण नहरको बाँध भत्काएर खेतमा पसेको पानीले गहुँ र मसुरो बालीमा क्षति पुगेको हो।
गण्डक नहर अन्तर्गत पर्ने जसौलीको तिलावे ब्यारेजको क्यानलबाट ब्लक नम्बर ५ मा पर्ने सानो नहरमा पुस १८ गते मध्यरातमा नहरको क्षमताभन्दा बढी परिमाणमा छाडिएको पानीले बाँध फूटाएर खेतमा पस्दा मधवल गाउँका ५० भन्दा बढी किसानको गहुँ र मसुरोबाली डुबानमा परेर नष्ट भएको छ।
‘नहरमा पानी नआएपछि किसान आफैले जेनतेन गरेर गहुँ र मसुरोमा सिँचाइ गरिसकेका थिए। विन्दवासिनी गाउँपालिका ४ मधवलका वडा सदस्य हरिन्द्र चौरसियाले भने, ‘अब बालीलाइ पानी जरुरी नै थिएन। तर दुई हप्ताअघि राति अचानक जसौली क्यानलबाट नहरले धान्नै नसक्नेगरी पानी छाडेछन्।’
त्यो पानी नहरको बाँध फूटाएर खेतमा पसेकाले बाली गलेर सखाप भएको उनले बताए। उनका अनुसार पुरै खेत डुबानमा परेको छ।
नहरको बाँध फूटाएर खेतमा पसेको पानीले मधवल गाउँका करिब ५० किसानको २५ बिघाभन्दा बढी क्षेत्रफलमा लगाएकाे गहुँ र मसुरो बाली नष्ट भएको वडा अध्यक्ष अनोज चौरासियाले बताए।
‘मेरो आफ्नै पनि १ बिघाको गहुँ बाली पानीले गलेर नष्ट भएको छ’, चौरासियाले भने, ‘पानीले गलेको गहुँ बालीबाट उत्पादन हुँदैन। बाली लगाउँदा लागेको २५/२६ हजार रुपैयाँ खर्च डुब्ने भयो।’
वडा सदस्य चौरासियाका अनुसार नहरको पानीले बाली बिग्रिएका पीडित किसानमध्ये अधिकांशले अरुको खेत भाडामा लिएर गहुँ र मसुरो बाली लगाएका छन्।
वर्षमा प्रति कठ्ठाको एक क्वीन्टल धान जग्गा साहुलाई बुझाउनेगरी १८ कठ्ठा खेत भाडामा लिएर गहुँ बाली लगाएका शिवशंकर साह नहरको पानीले बाली सोत्तर पारेपछि चिन्तामा छन्।
‘धान खेती गरेर भाडा बुझाइ सकेको थिएँ। अब वर्षभरिको बाली आफ्नो हुने भाे भनेर ढुक्क थिएँ, तर नहरको पानीले भएभरको गहुँबाली सोत्तर भयो’, उनले भने, ‘खेतमा अहिले पनि अधिक पानी छ। त्यहाँ अहिले कुनै बाली लगाउन सकिँदैन। यो वर्ष बालबच्चा भोकै पर्ने भए।’
शिवशंकरको जस्तै दुखेसो बृद्धा बासमति देवीको पनि छ। एकल महिला बासमति देवीको आफ्नो जग्गा छैन।
‘श्रीमान् बितिसक्नुभयो। छोरा रोजगारीको शिलशीलामा चितवनमा छ। पेट पाल्न साहुको १० कठ्ठा जग्गा भाडामा लिएर गहुँ लगाएको थिएँ तर नहरको पानीले सबै सखाप भयो, अब भोकै बस्नु बाहेक अरु कुनै उपाय छैन,’ उनले भनिन्।
‘गहुँ बालीमा ऋण काढेर गरेको १७/१८ हजार खर्च पनि पानीमा बगेर गयो, अब त्यो ऋण कसरी तिर्ने हो भन्ने पिरले सताइरहेको छ,’ उनले दुखेसो पोखिन्।
पानी चाहिँदैन, नहर पुरिदिए हुन्छ
सिँचाइ कार्यालय मातहत रहेको नहरको वर्षेनी सफाइ र मर्मतसम्भार नगरिएकै कारण चार वर्षयतादेखि किसानको बाली बिग्रिदै आएको चौरासिया बताउँछन्।
‘कि त सिँचाई कार्यालयले नहरको नियमित रुपमा मर्मत सम्भार गरिदेओस्, कि त यो नहर माटोले पुरिदेओस्’, वडाध्यक्ष चौरासीया भन्छन्, ‘एक त चाहिएका बेला नहरमा पानी नै आउँदैन। किसान आफैले जोहो गरेर सिंचाई गरिसकेपछि मात्र नहर भत्काउनेगरी पानी आउँछ। वर्षेनी बाली डुबाएर किसानलाइ बिल्लीपाठ बनाउने नहरको पानी हामीलाइ चाहिंदैन।’
यो सिजनमा गहुँ र मसुरो बालीमा नहरको पानीले पुर्याएको क्षतिपुर्ति र नहर मर्मत सम्भारको माग लिएर सिँचाइ कार्यालयमा पीडित किसानहरु गएपनि कुनै सुनुवाइ नभएको वडाध्यक्ष चौरासियाले बताए ।
‘सिँचाइ कार्यालयकै कर्मचारीको लापरबाहीले किसानले क्षति व्यहोरेका हुन्’, उनले भने, ‘पीडित किसानले क्षतिपूर्ति पाएनन् भने सडक आन्दोलनमा उत्रिन्छन्।’
त्रुटी भएको हो, क्षतिपूर्ति दिन सकिँदैन– सिँचाइ कार्यालय प्रमुख
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद साहले कर्मचारीको त्रुटीका कारण किसानको खेतमा नहरको पानी पसेको स्वीकार्छन् । तर यसमा किसान आफै पनि जिम्मेवार रहेको उनले बताए।
‘सिँचाइका लागि नहरमा पानी चाहियो भनेर २/३ हप्ता पहिले किसानहरु आफै आएका थिए। उनीहरुकै आग्रहमा नहरमा पानी छाडिएको थियो, तर पुस १८ रातिमा ब्यारेजमा कार्यरत चौकीदारले केही बढी पानी छाडेका रहेछन्, त्यसैले पानी नहरबाट खेतमा पसेको हो।’
‘किसानको बालीमा पुगेको क्षतिको नैतिक जिम्मेवारी म लिन्छु। तर क्षतिपूर्ति दिने प्रावधान कार्यालयसँग छैन,’ उनले थपे।