उखुको भुक्तानी नपाएको विरोधमा सर्लाहीका किसान केही साताअघि माइतिघर मण्डलामा विरोध प्रदर्शन गरे। १० दिनसम्मको विरोध प्रदर्शनपछि सरकारले भुक्तानी दिलाइदिने प्रतिबद्धता जनायो।
उखु किसानको भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिइसकेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माइतिघरमा आन्दोलन गरेका किसानलाई घर फर्काए।
मन्त्री भट्टले माघ ७ गतेसम्ममा उखु किसानको सबै रकम दिलाइदिने प्रतिबद्धता गरे। मन्त्रीको प्रतिबद्धताको आधारमा उखु किसान घर फर्किए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघको पहिलो हप्ता भित्रमा किसानको सबै भुक्तानी तिर्न भन्दै महालक्ष्मी र अन्नपूर्ण चिनी मिलका मालिकलाई शुक्रबार मात्रै चिठी काट्यो। महालक्ष्मी चिनी मिलबाट उखु किसानको २१ करोड र अन्नपूर्णबाट ५० करोड रूपैयाँ भुक्तानी हुन बाँकी छ।
त्यस्तै श्री राम सुगर मिल्सको ४२ करोड रूपैयाँ बक्यौता छ भने लुम्बिनी चिनी मिलबाट पनि पैसा लिन बाँकी रहेको उखु किसानहरूले बताएका छन्।
मन्त्रालयलका अनुसार हालसम्म अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवालबाट ३ करोड ९० लाख र महालक्ष्मी मिलका मालिक विरेन्द्र कनौडियाबाट साढे ११ करोड भुक्तानी भएको छ।
तर किसानको हातमा भने अहिलेसम्म ८ करोड मात्र परेको सर्लाही किसान संघर्ष समितिका सचिव हरिश्याम राय यादवले बताए।
‘किसानहरूलाई फोन गरेर सोध्दा अहिलेसम्म ८ करोड मात्र आएको पाइएको छ। कुन किसानको खातामा कति रकम गएको हो। त्यसको रेकर्ड हामीले पाउनु पर्यो’, उनले भने ‘उद्योग मन्त्री ज्युले आजसम्म सबै पैसा आउँछ भन्नु भएको छ। साँझसम्ममा सबै पैसा आउँछ भन्ने आशमा छौँ।’
उखु किसानको पैसा दिलाउनमा सरकार लागि परेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए। ‘हामीले उद्योगीलाई चिठी पनि पठाएका छौँ। पैसा तिर्दैछन्, सानोतिनो रकम होइन ठूलो रकम छ, समय त लागिहाल्छ’, मन्त्री भट्टले भने।
मन्त्री भट्टका अनुसार अन्नपूर्ण र महालक्ष्मीले आज बेलुकासम्मका केही रकम तिर्ने प्रतिबद्धता गरेका छन्। लुम्बिनी सुगर मिल्सका मालिकको मृत्यु भएकाले उनको परिवारसँग सम्पर्क गराइदिन पुनः गृह, अर्थ र सिडिओ कार्यालयलाई पत्राचार गरेको मन्त्री भट्टले बताए।
मन्त्री भट्टका अनुसार श्रीराम सुगर मिल्सले सम्पत्ति बेचेर बैंक र किसान दुबैको पैसा तिर्ने मन्त्रालयलाई जानकारी गराएको छ।
उखु किसानले चिनी उद्योगीबाट ६ वर्षअघि देखिको उखुको पैसा लिन बाँकी छ। उद्योगीले पैसा नदिएपछि गत महिना उखु किसान आन्दोलनमा उत्रिएका थिए।