सरकारले उखु किसानको भुक्तानी नतिर्ने चिनी उद्योगको बैंक खाता रोक्का गर्ने भएको छ। उखुको बक्यौता नर्तिने अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने भएको हो।
अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् भने लुम्बिनी चिनी उद्योग मनिष अग्रवालले लिजमा लिएर संचालन गरिरहेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार महालक्ष्मी सुगर मिल्सले किसानलाई २१ करोड ४० लाख दिनुपर्नेमा ११ करोड ५० लाख दिएको छ।
त्यस्तै अन्नपूर्ण सुगर मिलले ४२ करोड दिन बाँकी रहेकोमा ३ करोड ९० लाख दिएको छ। त्यस्तै इन्दिराले ७४ लाख रूपैयाँ भुक्तानी गरेको छ। श्री राम सुगर मिल्सले किसानलाई २६ करोड ७७ लाख रूपैयाँ दिनुपर्ने छ। सो उद्योगले किसानसँग रकम दिने सम्झौता भने गरेको छ।
त्यस्तै उखु किसानको बक्यौता नतिर्ने उद्योगको सबै आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको उनले बताए।
बाबा बैजुनाथ चिनी उद्योग र बाग्मती खाँडसारी, महाकाली र लुम्बिनी चिनी उद्योग भने सम्पर्कमा नआएको प्रवक्ता भट्टराईले बताए। उनका अनुसार ती उद्योगका मालिकलाई सम्पर्क गराइदिन मन्त्रालयले गृहलाई पत्राचार गरेको छ।
त्यस्तै, हिमालयन, इन्दुशंकर इष्टर्न, रिलायान्स र र भागेश्वर चिनी मिलले उखु किसानको सबै पैसा दिइसकेको मन्त्रालयले बताएको छ।