माघ १७ गतेदेखि २० गतेसम्म ललितपुरमा ‘चौथो प्राङ्गारिक कृषि मेला–२०७६’को आयोजना हुने भएको छ। अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा चार दिनसम्म चल्ने उक्त मेला पाटन संग्राहलय ललितपुरमा हुने भएको हो।
मेलाको उद्धघाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने भएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त मेलाबारे जानकारी गराईएको हो।
नेपालका अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यकता महशुस गरी अर्गानिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले बताएको छ।
मेलाको सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्राली र बाँस्कोटा ग्रुप अफ इण्डष्ट्रिज प्राली रहेका छन्।
आयोजक संस्थाकाअनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने रहेको छ।
त्यस्तै, उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने रहेको छ।
मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढी स्टलहरु रहने जानकारी दिइन्।
उनले मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु, फलफूल, विउ विजन, मह, तेल, राडी, पाखीलगायत रहने बताइन्।
त्यस्तै, मेलामा अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टहरु सम्बन्धमा पनि जानकारी तथा सूचना समेत प्रवाह गरिने भएको छ।
आयोजक संस्थाकाअनुसार उक्त मेलामा ३० लाख खर्च हुने अनुमान गरिएको छ। र, मेलामा एक करोडको कारोबार हुने पनि आयोजकले अपेक्षा लिएको छ।