नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३ सय अंकमा पुगेको छ। २४ अंकले सुधार भएको आजको नेप्से सूचक १३००.६२ अंकमा पुगेर रोकिएको हो। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ४.५३ अंकले बढेर २७९.१५ अंकमा पुगेको छ।
१ सय ८० कम्पनीको २४ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा दिनभरिमा ९१ करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भयो।
शेयर सूचक बढ्सँगै सोमबार सबै उपसूचक पनि बढेका छन्। आज सबैभन्दा बढी जीवन बीमाको शेयर १७४.०३ अंकले बढेको छ भने, निर्जीवन बीमाको शेयर १४९.७६ अंकले बढ्यो।
यस्तै, होटल, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार उपसूचक क्रमश ८३.३२, ६६.४३, ४३.८१ र ३४.५९ अंकले बढ्यो।
कारोबार अंकका आधारमा आज सबैभन्दा अघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखियो। नेपाल लाइफको दिनभरिमा ८ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै ग्लोबल आइएमई बैंकको ५ करोड २६ लाख तथा ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६८ लाखको कारोबार भयो।