गत शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको पहलमा चिनी मिल सञ्चालक र अगुवा उखु किसानका बीचमा छलफल भइरहेको थियो।
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको कार्यकक्षमा उनकै रोहबरमा भइरहेको उक्त छलफलमा उद्योगी राकेश अग्रवाल, उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, स्थानीय राजनीतिक दलका प्रतिनिधी, पत्रकार लगायत १५/२० जना सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी मरासिनी र उपस्थित राजनीतिक दल र किसान अगुवाहरूले उद्योगी अग्रवाललाई किसानलाई दिनुपर्ने रकम छिटो भुक्तानी गर्न आग्रह गरिरहेका थिए, अग्रवाल भक्कानो छोड्दै रुँन थाले।
‘टर्चर मात्र दिएर कसरी रकम दिऊँ ? टर्चर सहनुभन्दा सिडिओ साहेब मलाई थुन्नुस्।’
एकाएक प्रमुख जिल्ला अधिकारी मरासिनीको कार्यकक्षको माहोल नै फेरियो।
‘गतवर्ष ३ प्रतिशत घाटामा उद्योग चलाएँ, ‘घर बेचेर भए पनि किसानको रकम तिर्छु रकम जोहो गर्ने समय दिन नसके मलाई थुन्नुस्,’उनले फेरि रुँदै भने।
सरकारले चिनी उद्योगीसँग उखु किसानलाई पाउनुपर्ने रकम उठाइदिने सहमति गरे पनि उद्योगीहरू सम्पर्कमा नआएपछि सरकारले भुक्तानी नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्ने निर्णय गर्यो।
सरकारको उक्त निर्णयपछि पनि इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिज र अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिजका सञ्चालक राकेश अग्रवाल सम्पर्कमा आएनन्।
सरकार र किसानको सम्पर्कमा नआएका उद्योगी अग्रवाल नवलपरासी आएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले सम्पर्कमा ल्याएर भुक्तानीबारे किसान प्रतिनिधिसँग छलफल गराएका थिए।
अग्रवालको नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रीले १० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ।
अग्रवालकै सर्लाहीस्थित अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रीले पनि २० करोड भुक्तानी गर्न बाँकी छ।
छलफल कार्यक्रममा अग्रवालले आफूलाई उद्योग सञ्चालनको वातावरण नहुँदा रकम भुक्तानी गर्न नसकेको गुनासो गरे।
‘मेरो उद्योगमा ५ महिनादेखि किसानले ताला लगाएका छन्, गोदाममा भएको मोलासिस र चिनी विक्री गर्न पाएको छैन कहाँबाट रकम भुक्तानी दिऊँ?’
किसान प्रतिनिधिहरूले किसानको रकम भुक्तानी गर्न नसके ठगी मुद्दा दर्ता गर्ने भनेपछि अग्रवालले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।
अग्रवालका अनुसार इन्दिरा सुगरको गोदाममा ५ करोड र अन्नपूर्णको गोदाममा ७ करोडको मोलासिस र चिनी रहेको छ।
गोदाममा भएका सामान विक्री सँगै भुक्तानी गर्ने उनले बताए।
मौखिक रूपमा उनले माघ महिनाभित्र ६ करोड भुक्तानी गर्ने सहमति गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए। यादवले भुक्तानी सूची निकालेर रकम तिर्ने लिखित सहमति गरेको र मौखिक रूपमा माघभित्र ६ करोड तिर्छु भनेको उनले बताए।
नवलपरासी जिल्लामा इन्दिरासहित ३ वटा चिनी उद्योग छन्।
लुम्बिनीले करिब १० करोड भुक्तानी दिन बाँकी छ।
उक्त उद्योग यसवर्ष सञ्चालन नहुने भन्दै बन्द छ।
लुम्बिनी चिनी उद्योग मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन्।
बागमती चिनी उद्योग सञ्चालनमा छ। महिनादिन अघि १० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बागमतीले शुक्रबारसम्म ९ करोड ७५ लाख भुक्तानी गरेको जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई दिनुपर्ने भुक्तानी नदिने चिनी मिलहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेपछि कतिपय चिनी मिलहरूले किसानलाई रकम उपलब्ध गराउन थालेका हुन्।