पछिल्लो समय बजारमा लसुनको मूल्य बढ्दै गएको छ। माग अनुरुप बजारमा लसुन नपाइँदा मूल्य बढ्दै गएकाे हाे।
गत पुस मसान्तमा २ सय ४५ रुपैयाँमा कारोबार भएको प्रतिकिलो लसुन माघ २१ सम्ममा ६ सयभन्दा बढी भएको छ। सो अवधिमा लसुन १ सय ४४ प्रतिशतले बढेको हो।
उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारको मूल्य सूचि अनुसार माघको सुरुदेखि अहिलेसम्म लसुनको मूल्य ३ सय ५५ रुपैयाँ सम्मले बढेको छ।
नेपाली लसुनको बजार चिनियाँ लसुनले ढाकेको छ। नेपालमा सिजनमा मात्रै लसुनको उत्पादन हुने र उत्पादित लसुन पनि पर्याप्त नभएकाले चिनियाँ लसुन आयात हुने गरेको छ।
अहिले चीनबाट सामानको आयात बन्द भएसँगै लसुनको आयात पनि रोकिएकाले नेपाली बजारमा लसुनको मूल्य बढेको जानकारहरुले बताएका छन्।
कालिमाटी तरकारी बजारमा उपनिर्देशक विनय श्रेष्ठ लसुनको आयात घट्दा बजारमा अभाव देखिएको दाबी गर्छन्।
‘मागको तुलनामा पूर्ति नभएकाले मूल्य आकासिएको हो,’ उनले भने।
यसअघि दैनिक ५ देखि ६ टन लसुन आयत हुनेमा अहिले दैनिक २ देखि ३ टन सम्म मात्रै आउन थालेको श्रेष्ठले जानकारी दिए।
यो वर्ष भारतमा प्याजको उत्पादन घट्दा नेपालमा प्याजको मूल्य आकासिएको थियो। त्यस्तै अहिले चीनबाट लसुनको आयात रोकिदा नेपाली बजारमा लसुनको मूल्य बढेको छ।