पोखरा महानगरपालिकाले बास्नादार धान प्रवर्द्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ। कम्तीमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबुढो धान खेती गर्ने किसानलाई महानगरलेप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी ९० रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रममा बीच किसानलाई रकम वितरण गरे।
उनले स्थानीय किसानलाई सहयोग गर्दा खेतीयोग्य जग्गाको सदुपयोग हुने र स्थानीय बालीको प्रवर्द्धन हुने बताए।
आगामी दिनमा स्थानीय सरकारले किसानको उत्पादनको बजार ग्यारेन्टी लिने र गुणस्तरको आधारमा ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न सकिनेमा जोड दिए।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बास्नादार धानको उत्पादनमा आधारित सहयोग कार्यक्रमबाट किसानलाई सहयोग गरिएको बताए।
उनले गत असोज २९ गतेदेखि कात्तिक २८ गतेसम्म निवेदन लिइएको र निवेदनको आधारमा बाली कटानी प्रतिवेदन तथा उत्पादनको आधारमा तथा सम्बन्धित वडाको सिफारिसमा किसानलाई सहयोग गरिएको बताए।
महानगरका विभिन्न वाडका समूह, सहकारी तथा फर्म गरी जम्मा ९९ वटा निवेदन परेको र १ हजार ८ सय २९ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ५० केजी उत्पादन गर्ने किसानका लागि ९० का दरले आर्थिक सहयोग उपललब्ध गराइएको उनले बताए।
उत्पादकत्व वृद्धिको आधारमा थपिँदै जाने गरी कुल ५ लाख ६० हजार ४ सय ३० रुपैयाँ वितरण गरिएको थियो। सो कार्यक्रममा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले पोखराभित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको जानकारी दिए।
मुख्य फाँटहरूमा पोखरेली जेठोबुढो रोप्ने गरिएकोमा केही वषदेखि हाइब्रिड धान पनि भित्रिएकाले बास्नादार धनको संरक्षण गर्न महानगर लागि परेको बताए।
हाइब्रिड धानको बिउमा परनिर्भर बन्नुपर्ने, बाला नलाग्ने, रोग किरा बढी लाग्ने, रासयनिक मल विषादीको प्रयोग बढी हुने कारणले गर्दा थोरै क्षेत्रफलमा खेती गर्न उपयुक्त नभएकोले स्थानीय धान मीठो भएकोे, अत्यधिक माग, दीगो उत्पादन हुने र यहाँको हावापानी सुहाउँदो भएकोले यो जातको धानको प्रवर्द्धन गर्न लागिएको उनको भनाइ छ।
कार्यक्रममा किसान धर्म पौडेल र टेकनाथ बरालले कृषि योग्य भूमि छुट्टयाउनु पर्ने, गुणस्तरीय बिउको सुनिश्चितता हुनुपर्ने, बजारको ग्यारेन्टी, हाल आएर बास्ना कम आउँदै गएको बारेमा सरोकारवालाले सोच्नुपर्ने, माटो सुधार, प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लिबर्डका कार्यक्रम अधिकृत इन्द्र पौडेलले पोखराको फेवा, बिरुवा, अर्बा, अर्घौ, खास्टे, सिसुवा, लगायतका फाँटमा ३ सय ३८ जातका जेठोबुढो संकलन गरी तीनै जातहरूबाट छनोट गरी पोखरेली जेठोबुढो धान २०६३ सालमा नेपाल सरकारबाट पोखरा आसपासका क्षेत्रमा सिफारिस गरिएको जानकारी दिए। कार्यक्रममा कृषि ज्ञान केन्द्रका अधिकृत विष्णुराज ओझाले पकेट ब्लकमार्फत् यो धान व्यवसायीकरण गर्न सकिने बताए।