कतिपय शिक्षकले स्कुले केटाकेटीलाई राम्रो पढ भविष्यमा, डाक्टर, पाइलट बन्नुपर्छ भनेर सिकाउँछन्।
भविष्यमा के बन्न चाहन्छौं भनेर सोध्दा प्राय: धेरै बालबालिकाले डाक्टर, नर्स, पाइलट यस्तै नै भन्ने गर्छन्।
आज पनि कति धेरै विद्यार्थीको सपना होला राम्रोसँग पढेर असल डाक्टर बन्ने।
प्राय: अभिभावकले आफ्ना साना नानीको दिमागमा भरिदिने शब्द हो ‘डाक्टर’।
रुकुमका राजन केसीका परिवारको पनि छोरा डाक्टर बनोस् भन्ने चाहना थियो। उनलाई त्यही अनुसार शिक्षा दिँदै आएका थिए। राजन पनि पढाइमा तेज।
रुकुमको खलंगास्थित विजयश्वरी बोर्डिङबाट राजनले कक्षा ६ उत्तीर्ण गरे। बुवा नयनको सरुवा नेपालगञ्जमा भयो। उनले छोरालाई पनि नेपालगञ्ज लगे। नेपालगञ्जमा स्कुले शिक्षा पूरा गरेपछि ललितपुरको हात्तीवनबाट प्लस टु सके। त्यसपछि उनी एमबिबीएस पढ्न फिलिपिन्स गए।
नेपालको विकट तर सुन्दर भूमि रुकुममा जन्मिएका राजनले सानो छँदा गाउँघरमा पशु चौपाया पालेको, कृषि कर्म गरेको नजिकबाट नियालेका थिए। उसलाई त्यसले मन छोएको थियो।
तर अभिभावकको चाहनाले उनलाई फिलिपिन्स पुर्यायो।
पढाइ राम्रै चलिरहेको थियो। थर्ड इयर पढ्दा बीचमा बिदा भयो उनी घर आए।
फेरि ती गाउँ बस्ती नियाले। कृषकहरूको अवस्था उस्तै देखे।
उनीहरूको त्यो प्रयासमा थोरै केही प्रविधि र ज्ञान मिलाउन सके अथाह संभावना त्यहाँ उनले देखे।
साढे ४ वर्ष फिलिपिन्समा बस्दा र पढ्दा केसीको ६५ लाख बढी खर्च भइसकेको थियो। एमबिबिएस पढाइ सक्न अझ त्यति नै खर्च लाग्ने थियो।
खर्च भएको रकमको पछि लागेर आफ्नो रुचिलाई राजनले दबाउन सकेनन्।
‘जताबाट भए पनि मानिसको सेवा गरेर आखिर पैसा कमाउनु नै हो,’ राजनले भने ‘डाक्टर बन्दाखेरि मैले समय व्यवस्थापन गर्न सक्दिनँ कि जस्तो लाग्यो बरु कृषक बने स्वतन्त्र लाइफ हुन्छ जस्तो लाग्यो।’
अनि एमबिबिएसको पढाइ बीचमै छोड्नुको कारण उनले खोले।
‘स्वदेशमै प्रशस्तै संभावना छन्, बेकारमा विदेश किन जानु भन्ने लाग्यो,’ राजनले अगाडि भने ‘त्यसकारण मैले व्यवसाय गर्ने संकल्प गरेर यसमा हात हाले।’
परिवारले पनि राजनलाई कर गरेनन्। एक्लो छोराको रुचिमा परिवार तगारो बन्न चाहेनन्।
डाक्टर नबनेर कृषक बन्ने त अठोट गरे। तर गर्ने के? इच्छाशक्ति थियो तर के गर्ने कसो गर्ने उनले मेलो पाएनन्।
कुनै पनि व्यवसायमा चलाउन संभावनाहरूको अनुसन्धान आवश्यक पर्ने उनको बुझाइ थियो।
राजनका भिनाजु राम अधिकारीले काभ्रेमा केही वर्षदेखि ब्रोइलर कुखुरा पाल्दै आएका थिए।
ब्रोइलरबाट सोचे जति मुनाफा लिन नसक्दा राम त्यति सन्तुष्ट थिएनन्।
अलि फरक र नयाँ तरिकाले कसरी कुखुरा पाल्न सकिन्छ? भन्ने सोचमा राम पनि थिए।
संयोगले साला-भिनाको सोच एउटै भयो।
अनि उनीहरू संभावनाको खोजी गर्न विभिन्न जिल्ला घुमे। सुरूमा कुखुराको राजधानी मानिने चितवन पुगेर अध्ययन-अवलोकन गरे।
कुखुरा पालेर अनुभवी भइसकेका ३३ वर्षीय रामलाई चितवन त्यति उपयुक्त लागेन। घुम्दै दाङ आए। यहाँ पूरै भर्जिन ल्याण्ड देखेपछि आकर्षित भए।
‘दाङको हावापानी र मौसम चितवनको भन्दा पनि कुखुरा पाल्नको उपयुक्त रहेछ,’ रामले भने,‘चितवनको आकाश आज विषादीले भरिसकेको छ। तर, दाङ भर्जिन स्वच्छ र सफा छ।’
अनि अर्ग्यानिक रूपमा लोकल कुखुरा पाल्न सकिन्छ भन्नेमा उनीहरू ढुक्क भए।
साला-भेनाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीको दमारगाउँमा ३ विगाहा जति जग्गा एक करोडमा खरिद गरे।
भएको पैसा जग्गामै सकिएपछि उनीहरूले थप एक करोड बैंकबाट कृषि लोन लिए। १२ लाख राज्यबाट अनुदान पाए।
अरु ३ विगाहा जति जमिन लिजमा लिए।
त्यही जमिनमा आज पश्चिम नेपालकै सबभन्दा ठूलो लोकल कुखुराको फार्म सञ्चालन गरेको उनीहरूको दाबी छ।
दाङमा पहिलो पटक लोकल कुखुराको बच्चा (चल्ला) उत्पादन गर्ने ह्याचरी उद्योग सञ्चालनमा आएको छ। केही महिनाअघि साला-भिनाले संयुक्त रूपमा ‘राइसा ह्याचरी एण्ड पोल्ट्री फार्म’सञ्चालनमा ल्याएका हुन्।
त्यहाँ अहिले साना ठूला गरेर १४ हजार कुखुरा हुर्किरहेका छन्।
हप्तामा ४ हजारदेखि ४५ सय बच्चा उत्पादन हुन्छन् भने दैनिक ८ सयदेखि एक हजारसम्म अण्डा उत्पादन हुन्छ।
प्यारेन्ट कुखुरा १८ सय जति छन्। एक दिनको एउटा बच्चालाई ६० रुपैयाँमा विक्री गर्छन्।
अरु व्यवसायभन्दा कुखुरा पाल्दा सानो लगानीमा धेरै आम्दानी लिन सकिने हुँदा यही व्यवसाय आफूहरूले रोजेको रामले बताए।
‘अन्धाधुन्ध पाल्दा त यसबाट धेरै ठूलो घाटा पनि व्यहोर्नु पर्छ,’ रामले भने, ‘तर, स्थानीय जातका कुखुरा मर्ने डर पनि कम हुन्छ र बजार पनि यसको सधैं एकनासको हुन्छ।’
लोकल कुखुराले दिएको अण्डाबाट चल्ला उत्पादन गर्न उनीहरूले दुइटा अत्याधुनिक वातानुकूलित मेसिन राखेका छन्।
सत्र हजार अण्डा अटाउने एउटा सेटर मेसिन छ। सो मेसिनमा भर्खरै पारेको अण्डा राखिन्छ। अर्को त्यस्तै ह्याचर मेसिन छ। त्यसमा अण्डा राखेको ७२ घण्टापछि चल्ला निस्कन्छन्।
यी मेसिनबाट हप्तामा ४ हजार चल्ला निस्कन्छन्।
अण्डाबाट औषत ९७ प्रतिशत स्वस्थ चल्ला निकाल्न सफल भएको अधिकारीको दाबी छ।
कुखुराको खुद्रा मूल्य ५ सयदेखि साढे ५ सय रुपैयाँ प्रतिकेजीमा विक्री हुँदै आएका छन्। स्थानीय अण्डा, चल्ला र कुखुराका भाले खोज्न फार्म मै आउँछन्।
उनीहरूले परीक्षणको रूपमा विभिन्न जातका विदेशी कुखुरा जस्तै: सिल्की रोष्टर, पोलिस, व्याटम्यान, बन्टा, कडकनाथ पनि पाल्दै आएका छन्।
यी कुखुरा उनीहरूले थाइल्याण्डबाट ल्याएका हुन्। सिल्की रोष्टरको एक जोडीलाई ३० हजारसम्म पर्छ। जसको भुत्ला खरायोको जस्तै हुन्छ। त्यसको आयु ८ वर्ष जति हुन्छ। कडकनाथको मासु सबै कालो हुन्छ। त्यसको प्रतिकेजी १५ सय रुपैयाँ पर्छ।
आफूहरूबाहेक थप चार जनालाई पनि रोजगारी दिएको उनीहरूले बताए।
जग्गा जमिन खरिद र भौतिक पूर्वाधान निर्माण गर्दा हालसम्म २ करोड १८ लाख जति खर्च भइसकेको अधिकारीले बताए। बढीमा तीन वर्षमा लगानी उठाउने लक्ष्य रहेको रामले सुनाए ।
‘डाक्टर भए पनि मिहिनेत गर्नै पर्छ, किसानले पनि मिहिनेत त गर्नै पर्छ, तर, यहाँ अलि स्वतन्त्रता छ अनि धेरै सम्भावनामा पनि मैले देखेको छु,’ राजनले भने,‘स्वदेशमै प्रशस्तै संभावनाहरू छन्,तर यत्ति हो कि हामीले काम गर्न लाज मान्नु भएन।’
भविष्यमा आफूले बाख्रा पालन, भैंसीपालन तथा गाइपालनमध्ये एक गर्ने योजना राजनले सुनाए।