कुखरा पालन गरिरहेका किसानहरु आन्दोलनमा उत्रिएका छन्। ह्याचरीहरुले कार्टेलिङ गर्दै चल्लाको भाउ एकाएक बढाएपछि उनिहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका हुन्।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसँग गुनासो राख्न उनीहरु काठमाडौं आएका हुन्।
राष्ट्रिय कुखरा पालक किसान संघर्ष समिति बनाएर उनीहरुले कडा आन्दोलनको चेतावनी पनि दिएका छन्।
माघ तेस्रो हप्तामा ह्याचरीहरुले एउटा चल्लाको भाउ ३० रुपैयाँले बढाएको र आम कुखुरा पालक किसानको मूल्य निर्धाण गर्ने हक कुण्ठित गरेको भन्दै उनीहरुले आपति जनाएका छन्।
कुखुराको मासु सस्तिएपछि ह्याचरीहरुले चल्ला मारेका थिए। त्यसपछि उनीहरुले चल्लाको भाउ बढाएर किसानलाई दिएका थिए। सिमित ह्याचरीहरुले चल्लाको भाउ बढाएपनि किसानले पाउने लाभमा भने खासै फरक परेको छैन।
एकातिर चल्लाको भाउ बढाउने अर्कोतिर किसानबाट कुखुरा पनि सस्तोमा खरिद गर्न खोज्ने प्रवृत्ति बढेको र यसबाट किसान मारमा परेको उनीहरुको गुनासो छ।
ह्याचरीको कार्टेलिङमाथि छानविन गरी किसानको हित हुनेगरी काम गरिदिन सरकारसमक्ष माग राखेका छन्। राष्ट्रिय कुखुरापालक संघर्ष समितिका संयोजक विष्णु खड्काले आजै विभिन्न मागसहतिको ज्ञापनपत्र बुझाउने बताए।
यस्ता छन् मागः
चल्ला र दाना को मुल्य घटाउनुपर्ने
गुणस्तरिय दाना हुनुपर्ने
दानाको परीणाम पुराएर दिनुपर्ने। यसमा गुणस्तर तथा नाप तौल विभागले अनुगमन गर्नुपर्ने
चल्ला र दानाअनुसार कुखुराको मूल्य समायोजन गर्नुपर्ने
माग पूरा नभए देशभरीका किसान जम्मा भएर आन्दोलन गर्ने चेतावनी समेत दिइएकाे छ।