बारा र पर्सा जिल्लाका किसानले लगाएको हिउँदे मकै बालिमा दाना नलाग्ने समस्या देखिएको छ। यस वर्ष सिपी, श्रेष्ठ लगायतका विभिन्न जातका मकैको घोगामा दाना नलाग्ने समस्या देखिएको हो।
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिका, करैयामाई गाऊँपालिका, कोल्हबी नगरपालिका लगायतका विभिन्न स्थानमा ६ हजार हेक्टरमा लगाईएको मध्ये ३ सय ५० विगाहाको मकै बालीमा बोटको टुप्पामा मात्रै दाना लागेकाले किसानहरु चिन्तित छन्।
मकैको घोगामा दाना नलागेपछि किसानहरु मकैको बोट काटेर गाईवस्तुलाई खुवाउन बाध्य भएका छन्।
घोगामा दाना लाग्नुको सट्टा बोटको टुप्पा (धान चमिरा)मा मसिना घोगासंगै दाना लागेको किसानहरुले बताएका छन्।
यस्तो समस्या पहिलोपटक देखा परेको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका किसान लक्ष्मी गिरीले बताईन्। चार कठ्ठामा लगाएको श्रेष्ठा जातको मकैमा दान नलागेपछी मकैको बोट काटेर भैंसीलाई खुवाएको उनले सुनाइन्।
‘धान चमिरामै दाना लाग्न थालेपछी मकै फलेन। महंगो विऊ/मल सिंचाई, गरेर लगाएको बालिमा दाना नलाग्दा चिन्ता लागेको छ’ किसान बिनोद कार्कीले भने।
‘विऊ र मलको पैसा तिर्न बाँकी छ। मकै बेचे तिर्ने सर्तमा साहुबाट विऊ, मल ल्याएर लगाएको थिए, कसरी तिर्नु’ उनले गुनासो गरे।
कार्कीले दशकठ्ठामा मकै लगाएका छन्, नफल्ने हो कि भन्ने उनलाई चिन्ता छ।
‘उखुको भुक्तानी समस्याबाट पिडित भएर मकै लगाईयो। मकै पनि फलेन पिडामा माथी पिडा थपियो’ अर्का किसान मुन्ना मगरले दुखेसो गरिन्।
जिल्लाको जितपुरसिमरा, कलैया उपमहानगरपालिका, करैयामाई, कोल्हबी लगायतका विभिन्न स्थानमा लगाईएको मकैको टुप्पामा दाना लाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र बाराले बताएको छ।
मकैको बोटमा फुलफुल्ने बेलामा १५ डिग्री भन्दा कम तापक्रम भएमा मर्छ। त्यस्तो अवस्थामा परागसेचन हुन पाउंदैन। साेहीकारण दाना नलाग्ने समस्या देखिएको कृषि विज्ञहरु बताउँछन्।
विशेषगरी असोज अन्तिम तथा कार्तिक १५ पछि लगाएको मकै बालिले फुल फुल्ने बेला १५ डिग्रि भन्दा कम चिसोको सामना गर्नुपर्ने हुन्छ। कार्तिक १५ पछि मंसिर महिना पुरै मकै लगाउने समय हो। तर किसानहरुले असोजमा धान काटेलगत्तै मकै लगाउने गरेका छन्।
चन्दन, श्रेष्ठा, सिपि, ३१२२, विराट ९२, सुपर ९५१ लगायतका मकैको जातमा धानचमिरामै दाना देखिएको हो।
जितपुरसिमरा १८ मात्रै २ सय हेक्टर बढीमा लगाइएको मकैको घोगाको टुप्पामा साना दाना लागेको पाईएको कृषि प्रसार अधिकृत राजवंशी चौरसियाले जानकारी दिए।
‘टुप्पोमा दाना लागेका मकैका बोटमा वास्तविक घोगा लागेको छैन। जिल्लाको अन्य क्षेत्रको विवरण संकलन गर्दैछौं’, उनले भने।
कृषि ज्ञान केन्द्र बाराले मकैमा देखिएको समस्याको वास्तविकता अध्ययन गर्न अधिकृत चौरसिया र कृषि विज्ञ गेनालाल प्रसाद मण्डललाई खटाएको छ।
उक्त समस्याको अनुगमन गरी प्रतिवेदन सहित सम्बन्धित निकायमा पठाएर समस्या समाधानका उपायको खोजि गरिने ज्ञान केन्द्र प्रमुख यादवले बताए।
बारामा लगाइएको मकै खेतीमा देखिएको समस्याबारे विऊ विक्री गर्ने विक्रेताहरु पनि अनविज्ञ रहेको विऊ विक्रेता टेक बहादुर बताए।
एक त किसान आफैले प्राविधिक सुझाव नलिई मकैको विऊ किनेर छरे। विऊ विजन विक्री गर्ने आधिकारीक विक्रेताले पनि नेपाल सरकारले सुचिकृत गरेको विऊ मात्रै विक्री गरे। यसकारण पनि मकैबालिमा दाना नलाग्ने समस्या आएको विक्रेताहरुले बताएका छन्।