रुपन्देहीमा सात सय कुखुरालाई खाडलमा गाडेर नष्ट गरिएको छ।
भारतबाट अवैध रूपमा ल्याइएका बोइलर कुखुरालाई रुपन्देही प्रहरीले बरामद गरी नष्ट गरेको हो।
बिहान ५ बजे नै रुपन्देहीको रोहिणी गाउँपालिका वडा नंं ५ तेनुवामा साइकल र मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीले सात सय कुखुरा बरामद गरेको हो।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ। यद्यपी सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम रोकिएको छैन।
प्रहरीले कुखुरालाई बरामद गरे पनि कुखुरा ल्याउने व्यक्तिलाई भने नियन्त्रणमा लिएको छैन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीले कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा कुखुरा छाडेर भागेकोले पक्राउ गर्न नसकिएको बताए।
बरामद गरिएका कुखुरालाई रोहिणी खोलामा खाडल खनेर नष्ट गरिएको उनले बताए।