भेडा–बाख्रा पाल्ने किसानलाई कालिकोटको पचालझरना गाउँपालिकाले गोठालो भत्ता दिन थालेको छ।
किसानको आयस्तर वृद्धि गर्ने तथा गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गोठालो भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए।
सेजुवालका अनुसार ५५ भन्दामथि भेडा–बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन थालिएको हो।
५५ देखि ९९ सम्म भेडा–बाख्रा भएकालाई मासिक एक हजार, एक सय सम्मलाई दुई हजार रुपैयाँ र त्योभन्दामाथि भएकालाई थप भत्ताको व्यवस्था गरिएको उनले बताए।
‘किसानको आयस्तर वृद्धि गराउन र गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन हामीले यो निर्णय गरेका हौं,’ अध्यक्ष सेजुवालले भने, ‘भेडा पाल्ने व्यवसायलाई प्रोत्साहन गर्न पनि भत्ताको व्यवस्था गरिएको हो।’
चालु आर्थिक वर्षको सुरूदेखि नै किसानलाई ‘गोठालो भत्ता’ दिन सुरू गरिएको उनले जानकारी दिए।
गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख वीरेन्द्रबहादुर बमका अनुसार गाउँपालिकाभर अहिले भेडा–बाख्रा पाल्ने ५१ जना किसान छन्। ६० भन्दा माथि भेडा–बाख्रा पाल्ने किसानको संख्या भने ४० मात्र रहेको उनले जानककारी दिए। यस्तै सय माथि पाल्ने किसान सात जना छन्।
बमका अनुसार गाउँपालिकामा सबैभन्दा धेरै भेडा–बाख्रा पाल्ने किसान विष्णुबहादुर शाही हुन्। उनले २५५ भेडा–बाख्रा पालेका छन्। शाहीले मासिक चार हजार रुपैयाँ पाउने गरेका छन्।
गाउँपालिकाले किसानका भेडा–बाख्राको संख्या एकीन गरेर मात्र भत्ता दिने गरेको छ। ‘भत्ता दिनुअघि किसानका भेडा–बाख्राको तथ्याङ्क संकलन गर्छौं’ अध्यक्ष सेजुवालले भने, ‘संख्याको आधारमा मात्रै भत्ता वितरण गर्ने गरेका छौं।’
आफ्नो नीति तथा कार्यक्रममा नै गाउँपालिकाले ‘गोठालो भत्ता’को व्यवस्था गरेको थियो। ‘मासु विक्री गर्नेभन्दा पनि यहाँ कम्मल बनाउने ऊनका लागि भेडा पाल्ने गरिन्छ, व्यवसायिक रुपमा भेडा–बाख्रा पाल्ने चलन छैन्,’ सेजुवालले भने।