रुकुमको खारामा हुँदा ३३ वर्षीय रामचन्द्र खड्का ५ वर्षसम्म माओवादीमा संलग्न थिए। २०५६ साल फागुन १० गते रुकुमको खारा घटना हुँदा उनी १३ वर्षका मात्रै थिए।
तत्कालिन परिस्थितिबाट जोगिन र पढ्ने हुटहुटीले गर्दा माओवादीको द्वन्द्वकालीन समयमा गाउँमा बस्न नसकेपछि रामचन्द्र रुकुमबाट कक्षा ९ मा पढ्न सुर्खेत गए। तर, ९ कक्षा पढ्दा पढ्दै तत्कालिन असहज परिस्थितका कारण रामचन्द्र पढाई छोडेर माओवादीमा संलग्न हुन बाध्य भए। पछि विदेशबाट फर्केपछि एलसएसी उत्तिर्ण गरे उनले।
युद्धमा लाग्दा उनको आर्थिक अवस्था झनै कमजोर बनेपछि रोजगारीको सिलसिलामा सन् २००७ मा मलेसिया पुगे। तीन पटकसम्म विदेश गएर फर्किएपछि उनलाई नेपालमै केही गरौं लाग्यो।
रामचन्द्रले दाङमै के गर्न सकिन्छ भन्ने लागेर कृषिका क्षेत्रमा अध्ययन गर्न थाले। रुकुमको खारास्थित खेतवारीमा उनका बाउ/बाजेले कागती, सुन्तला, स्याउको खेती गर्दै आएका थिए। फलफूलको खेती कसरी गर्ने रामचन्द्रलाई सानैदेखि थाहा भएको बताउँछन्।
अमिलो जातका तीनै फलफूल विदेशवाट वर्षेनी ठूलो संख्यामा नेपाल भित्रने गरेको उनले पत्ता लगाए। त्यसबाट देशले ठूलो क्षति चुकाउनु परेको थाएपाएपछि उनलाई दुःख लाग्यो। त्यसपछि उनले यही क्षेत्रमा लाग्छु भन्ने सोच बनाए र कागती खेतीबारे अग्रज व्यक्तिसँग सल्लाह लिन थाले। रामचन्द्रले कागतीको व्यवसायिक खेती २०७४ पुसदेखि सुरु गरे। उनले सूर्या जैविक कृषि केन्द्र प्रालि दर्ता गरे।
‘मैले आँटेरै यो व्यवसाय गरेको हो,’ रामचन्द्रले भने ‘ मेहनत गरे नहुने केही छैन भन्नेमा म ढुक्क भए।’
कागतीको व्यवसायिक खेती गरेको २ वर्षपछि मात्रै उनले कागती बगैचा व्यवस्थापन र पोष्ट हार्भेस्टसम्बन्धि एक हप्ते तालिम लिन पाएका थिए। नेपालमा तालिम लिन चाहनेका लागि पहुँच नभएको रामचन्द्रको बुझाई छ। एकहप्ते तालिमपछि उनले घरनजिकै कागती खेती गर्नेगरी जग्गा खोजे।
तुलसीपुर उपमहानगरपालिकामा रहेको थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा (एक विगाहा चार कठ्ठा) जग्गा लिए। वार्षिक ५० हजारमा यो जग्गा लिइएको रामचन्द्र बताउँछन्।
त्यहाँ उनले १ हजार ५ सय कागतीका बोटहरु हुकाई सकेका छन्। कागतीले फल दिन सुरु गरिसकेको भन्दै उनले अहिले धमाधम बेचिरहेको बताए। आफ्नो पसिनाले बजार पाएपछि रामचन्द्र खुसी देखिन्छन्।
हालसम्म उनले १५ क्विन्टल कागती विक्री गरिसकेका छन्। धेरै मानिस कागती खोज्दै उनको फार्ममा आइपुग्छन्। ५/६ क्विन्टल कागती उनले काठमाडौं पनि पठाइसकेका छन्।
फार्ममै किन्न आउनेले प्रतिकिलो १ सय २० रुपैंयामा लैजान्छन्। होलसेलमा प्रतिकिलो १ सय ४० रुपैंयासम्म विक्री गर्दै आएको उनले जानकारी दिए।
‘यूरेका गोल्डेन लेमन’ नामक कागती रोपेका छन्, उनले। ‘यूरेका गोल्डेन लेमन’ जातको कागति भारतीय हो।
सम्झौंताअनुसार बाँकी १३ वर्षसम्म निरन्तर फाइदा मात्रै लिनसक्ने उनको विश्वास छ। वषैभरी फल्ने कागती एक वर्षमा एउटै बोटबाट २० देखि २५ केजीसम्म फल दिनसक्ने उनी बताउँछन्।
कागती खेतीको लागि दाङको माटो र हावापानी उत्तम रहेको उनको बुझाइ छ। ‘५.५देखि ६ प्वाइन्ट पिएच भएको माटो कागती खेती गर्न उपयुक्त मानिन्छ। त्यो मापदण्ड दाङमा छ।’
कैलालीका एक विचौलियोको सहयोगमा प्रति विरुवा २ सय ५० मा किनेर उनले दाङ ल्याएका रहेछन्।
बेर्ना ल्याउन मात्रै झन्डै ४ लाख खर्च भएको थियो उनको।
उक्त व्यवसायमा आजसम्म रामचन्द्रको कुल ८० लाख लगानी पुगिसकेको छ।
रामचन्द्रले भन्छन् ‘कृषि एकैपटक ह्वात्तै आम्दानी हुने पेशा होइन, तर आफ्नो मिहेनतले भविष्यमा मुनाफा हुन्छ भन्नेमा ढुक्क छु।’
आफुले रोपेको कागतीलाई खड्काले आफ्नै सन्तानको हेरचाहा गरे जसरी स्याहार गर्छन्। कुनै पनि खेती गर्दा यस्तै मिहेनत आवश्यक पर्छ भन्ने रामचन्द्रलाई थाहा छ।
खड्काको फर्ममा हुर्किरहेको कागतीमा लिफ माईनर (पात खाइदिने) किराहरु कहिले काँही देखिएपनि अन्य कुनै रोग लागेकाे छैन।
कागतीको फर्मभित्रै रामचन्द्रले १ हजार ८ सय लोकल कुखुरा पनि पालेका छन्। अब त्यहाँ लौकाट पाल्ने उनको योजना छ।
हाल घोराही उपमहनगरपालिका, धर्नामा साथीहरुसंग मिलेर केरा खेती समेत गर्दैछन्, उनी। केरा खेतीकोबीचमा माछा पोखरी पनि निर्माण भइरहेको उनले सुनाए।
धितो राख्ने सम्पत्ति नभएपनि उनले ब्याज तिरेर यो सबै व्यवसाय गर्दै आएको बताए। उनी भन्छन् ‘तीनपटक विदेश गएर कमाएको केही रकम र ऋण गरेर कागती खेती गर्न सुरु गरेको हुँ।’
‘राज्यका ठूला पदमा रहेका व्यक्ति नै कमिसनको ध्यानमा हुनाले वास्तविक किसानले सहुलियत पाउन नसकेकाे उनी बताउँछन्।
राज्यले भनेझै एकै ठाउँमा १५/१६ हेक्टर जमिन पाउन र खेती गर्न असंभव रहेको खड्काको दाबी छ। उनले भने ‘मैले पाउँथे भने सबै आसपासको जग्गा भाडा लिएर कागती रोप्थे, तर जग्गा दिन कसैले मान्दैनन्।’ तर, आफूले सक्ने अवस्थासम्म तिनै कागती उत्पादन तथा विक्री वितरणमा ध्यान दिने रामचन्द्रको अठोट छ।