पोखराको पृथ्वीचोकभित्र रहेको तरकारी तथा फलफूल संकलन तथा विक्री केन्द्रमा मानिसको आउजाउ पातलिँदैछ। केन्द्रमा तरकारी किन्न र बेच्न आउने उपभोक्ता र व्यापारी पनि दिनहुँ घट्दै गइरहेका छन्। केन्द्रमा बिएमआर भेजिटेवल सप्लायर्स चलाएका पर्वतका विष्णु हमाल अहिले तरकारी नै बिक्न छाडेको बताउँछन्।
तरकारी र फलफूल फागुन, चैत र वैशाख तरकारी र फलफूल धेरै बिक्ने सिजन हो। यही बेला तरकारी र फलफूलको व्यापार दुई तिहाइले घटेको हमालको अनुभव छ। पोखराकै सबभन्दा ठूलो होलसेल व्यापार हुने ठाउँ हो यो। यहाँ भारत, चीन लगायतका देशबाट समेत तरकारी र फलफूल आउँछन्।
विशेष गरी होटल, रेष्टुरेण्ट, होस्टल लगायतका ठाउँबाट तरकारी र फलफूल किन्न यस केन्द्रमा आउँछन्।
यस्तै, बजारमा रहेका खुद्रा पसल, डोकोमा तरकारी र फलफूल बेच्ने खुद्रा व्यापारी पनि यहीँबाट सामान लिएर जान्छन्। बिहान ४ बजेदेखि नै भीड लाग्ने विक्री केन्द्रमा अहिले सन्नाटा छाउँदैछ।
केन्द्रमा सटर लिएर रियाना फ्रुट्स सेन्टर खोलेकी रिता लामिछानेले व्यापार नहुँदा फलफूल ल्याउनै छाडेको बताइन्।
‘एक त अहिले आउँदा पनि आउँदैन’, उनले भनिन्, ‘भएका फलफूल पनि विक्री भएनन्।’
उनको पसलमा अहिले भारतबाट आएको केही सुन्तला, केरा र अँगुर बाँकी छन्। स्याउ भने अहिले संकलन केन्द्रमै अभाव भएको उनले बताइन्।
‘स्याउ चीनबाट आउँथ्यो’, उनले भनिन्, ‘चीनमा कोरोना भाइरस आएपछि हाम्रोमा फलफूल आउन छाड्यो।’
सामान आउनमात्र छाडेको होइन, किन्ने मानिस पनि आउन छाडेको उनको अनुभव छ।
‘अहिले त व्यापार नै छैन’, उनी रिता भन्छिन्, ‘फलफूल किन्न होटल, रेष्टुरेण्टका मानिस आउँदै आएनन्।’
भारतबाट आउने सामान पनि मगाउन छाडेको तरकारी व्यापारी हमालले बताए।
‘खरिद/विक्री नै रोकिएपछि उठ्नुपर्ने पैसा पनि उठेको छैन’, उनले भने, ‘बुझाउनुपर्ने ठाउँमा पनि बुझाउन सकिएन।’
पोखरामा स्थानीय उत्पादनले नपुग्ने भएकाले चितवन, धादिङ लगायतका जिल्लाबाट समेत तरकारी र फलफूल आउँछ।
यसका अलवा भारतबाट वीरगञ्ज, सुनौली, नेपालगञ्ज र कृष्णनगर नाकाबाट समेत पोखरामा तरकारी र फलफूल भित्रिन्छ। विदेशबाट ल्याइने तरकारी र फलफूल कम हुँदै गएको व्यापारीको भनाइ छ।
तरकारी तथा फलफूल संकलन तथा विक्री केन्द्रको कृषि बजार व्यवस्थापन समितिका अनुसार पहिल्यै ल्याएका तरकारी र फलफूल पनि कुहिने अवस्थामा छ।
केन्द्रमा चिस्यान केन्द्र नभएकाले पनि यस्तो अवस्था आएको व्यवस्थापन समितिका अध्यक्ष छेवाङ तामाङ बताउँछन्।
‘कोरोनाभाइरसले पर्यटक नहुँदा होटल/रेष्टुरेण्ट चलेनन्’, उनले भने, ‘हाम्रो तरकारी र फलफूल बिकेनन्।’
उनका अनुसार नियमित रूपमा लैजाने फुटकर व्यापारी र अन्य उपभोक्ता समेत अहिले तरकारी तथा फलफूल किन्न आउन छाडेको बताए।
केन्द्रको रेकर्ड अनुसार गत वर्षको फागुन ६ गते ४३८ दशमलव ८३७ मेट्रिक टन तरकारी र फलफूल पोखरा भित्रिएको थियो।
यस वर्षको फागुन ६ गते १७४ मेट्रिक टन मात्र तरकारी र फलफूल भित्रिएको केन्द्रका योजना सहायक रूपा दाहाल बताउँछिन्।
‘बढ्नुपर्ने बेला दिनदिनै तरकारी र फलफूलको व्यापार घटेको छ’, उनी भन्छन्, ‘व्यापार नै बन्द हुने अवस्थामा पुगेको छ।’
४६ रोपनीमा फैलिएको केन्द्रमा अहिले तरकारी र फलफूलका १ सय ५० वटा स्टल छन्। केही स्टल स्थानीय किसान र कृषि सहकारीले चलाउँछन् बाँकी तरकारी तथा फलफूल व्यापारीले चलाएका छन्।
स्थानीय उत्पादन स्वयं किसान र कृषि सहकारीमार्फत् विक्री वितरण हुन्छन्।
बिहान ४ बजे नै किसान समेत डोकोमा तरकारी र फलफूल ल्याएर बेच्ने ठाउँ हो यो। अहिले यस्ता फुटकर किसान आउनै छाडेको केन्द्रका व्यवस्थापक महेन्द्र विष्ट बताउँछन्।
‘बिहानै तरकारी किन्ने र बेच्ने मानिसको भीड लाग्थ्यो’, उनी भन्छन्, ‘अहिले फाट्टफुट्ट मात्र आउँछन्।’
व्यवस्थापन समितिले केन्द्रको सटर भाडामा दिँदा व्यापारीलाई मासिक सानो सटरको ४५००, मझौलाको ५५०० र ठूलो सटरको ४५०० भाडा लिन्छ।
यस्तै, डोको, बोरा, क्रेटमा तरकारी बेच्न ल्याउने किसानसँग भने दैनिक ३ रुपैयाँदेखि १५ रुपैयाँ लिन्छ। किसानले लिएको सटरमा भने २५ प्रतिशत छुटको व्यवस्था मिलाएको छ।
संकलन केन्द्रबाट रहेका व्यापारीले पोखरा महानगरलाई व्यवसाय कर तिर्छन् भने केन्द्रले जग्गा भाडा स्वरूप आम्दानीको १७ प्रतिशत रकम महानगरलाई बुझाउँछन्।
गतवर्ष मात्र ११ लाख रुपैयाँ भाडा तिरेको केन्द्रले जनाएको छ।
यस्तै, फोहोर व्यवस्थापनका लागि मासिक ८० हजार रुपैयाँ पनि बुझाउने गरेका छन्।
तरकारी र फलफूल चिस्यान केन्द्र बनाउन भने अहिलेसम्म कसैले चासो नदिएको उनीहरूको गुनासो छ।
‘दिनहुँ तरकारी र फलफूल कुहिएर खेरा फाल्नुपरेको छ’, अध्यक्ष तामाङले भने, ‘चिस्यान केन्द्र बनाउने हो भने किसानका उपज खेरा जाँदैनथ्यो।’
त्यसो त, कृषि बजार व्यवस्थापन समितिले पनि यहाँ रहेका सटर भाडा, किसानले ल्याएका तरकारी खरिद विक्री र गाडी प्रवेश गर्दा शुल्क उठाउँछन्। उनीहरूले पनि यसमा चासो नदिएको व्यापारीको भनाइ छ।
केन्द्रमा विचौलियाको गठजोड भएकै कारण चिस्यान केन्द्र बनाउन समस्या भएको एक पदाधिकारीले बताए।
‘तरकारी र फलफूलमा किसानसँग लिएर दोब्बर मूल्यमा बेच्छन्’, ती अधिकारीले भने,‘चिस्यान केन्द्र नभएर किसानलाई होइन, व्यापारीलाई घाटा हो।’
कोरोना भाइरसले तरकारी र फलफूल बिक्न छाड्दा किसान र व्यापारी दुवैलाई मर्का परेकोमा भने उनीहरू एकमत छन्।
‘तरकारी र फलफूल विक्री हुँदैनन्’, बजार व्यवस्थापक थापाले भने, ‘किसानको उपज खरिद नै हुँदैन, व्यापारीले खरिद गरेका पनि विक्री भएनन्।’