कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ को अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।
आइतबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार मन्त्रालयले दुध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायतका सामग्री बजार, केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत उपलब्ध गराउने भएको छ।
मन्त्रालयका उपसचिव डा गंगा आचार्यले किसानलाई ढुवानीमा अनुदान दिन सबै स्थानीय तहलाई पत्राचार गरिएकाे जानकारी दिए। साथै किसानमा परेको समस्याको समेत अभिलेख उपलब्ध गराउन पत्राचार गरिएको उनले बताए।
‘हामीले अनुदानका लागि स्थानीय तहमा पत्राचार गरिसकेका छौं, के कसरी दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने।
मन्त्रालयले किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारीसाधनको पासको व्यवस्थासमेत गरेको छ।
किसानलाई परेको असरको अभिलेख तयार पारी आवश्यक कार्यक्रम ल्याउन पनि मन्त्रालय लागि परेको छ।
किसानले उत्पादन गरेका वस्तुहरूको बिक्रीवितरण नभए स्थानीयस्तरमै वैकल्पिक वस्तुहरू उत्पादन वा प्राथमिकस्तरको प्रशोधन गर्ने कार्यमा समेत सघाउन स्थानीय तहलाई मन्त्रालयले आग्रह गरेको छ।