आजभन्दा करिब ५ महिनाअघि घोराहीमा मोटरसाइकलका थोत्रा टायर उठाउँदै थिए, पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर।
त्यतिबेलै बिष्टको यो काम देखेपछि चिनजानका व्यक्ति आश्चर्यमा परे। कतिपयले त यस्तो लाजमर्दो काम पनि गर्ने भन्दै बिष्टलाई आइन्दा नगर्न सुझाव दिए।
घोराही मात्रै होइन तुलसीपुरमा पनि त्यसैगरी थोत्रा टायर जम्मा गर्न थाले। उनले साथीभाइका सुझाव मानेनन्। बरु चस्मा र मास्कमा अनुहार छोप्न थाले।
‘चस्मा र मास्क लगाएपछि कसैले चिन्दैनन्, त्यसपछि टन्टै साफ भन्ने लाग्यो, खुरूखुरू आफ्नो काम गर्यो फर्कियो,’ उनले भने।
चैत १९ गते बिष्टले टायर उठाउँदै गरेको एउटा फोटो भाइरल पनि भयो। जसमा मोटरसाइकलका टायर नाम्लो लगाएर उनले पिठ्यूमा बोकेका छन्। तस्वीरले धेरैको प्रशंसा बटुल्यो।
जतिबेला उनले तुलसीपुर–घोराही सडक खण्डको फार्म छेउमै थुपारेर राखेका टायर बोकेर लैजाँदै थिए। उनका ज्वाइँ नेत्रलाल बोहोराले तस्वीर खिचेका थिए। अरू पनि उनीसँगै त्यसैगरी काम गर्दै थिए। बिष्टले भने ‘हामी ६ जनालाई टायर ओसार्न तीन दिन लागेको हो।’
रुकुमका स्थायी बासिन्दा उनी तत्कालीन नेकपा माओवादीका एक संस्थापक नेता हुन्। दुई पटक मन्त्री पनि भइसके। पुर्ख्यौली झन्डै ८ बिघा जग्गा पार्टीकै कामका लागि गुमाएको उनी बताउँछन्।
उनले पार्टीबाट राजीनामा दिएर हाल स्वतन्त्र जीवन विताउँदै आएका छन्।
स्वतन्त्र जीवन बिताउन थालेपछि उनी कृषि पेशातिर लागेका हुन्। व्यवसायिक ड्रागन फ्रुटको खेती गर्नकै लागि उनले बजारबाट मोटरसाइकलका थोत्रा टायर संकलन गरेका थिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मैरवाको डाँडोमा ६६ कठ्ठा जग्गा भाडामा लिएर बिष्टले खेती थालेका छन्। सिउँडी प्रजातिको ड्रागन फ्रुटको खेतीप्रति आफू सन्तुष्ट रहेको उनी बताउँछन्।
‘काम गर्दा मज्जाले निन्द्रा लाग्छ, कुनै रोगव्याधि छैन, कसैलाई ढाँट्नु र ठग्नु परेको छैन, यसमै खुसी छु’ उनले भने। बिहानदेखि बेलुकासम्म फार्ममै व्यस्त हुन्छन्।
‘गोडमेल गर्ने, मल, पानी हाल्ने जस्ता काममा व्यस्त हुन्छु’ उनले भने ‘हाल माछा पोखरी निर्माणको काम भइरहेको छ।’
ड्रागन फ्रुटमा उनको खेती क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो हो। यहाँ अहिले दश हजारजति ड्रागन फ्रूटका बोट हुर्किरहेका छन्।
‘विविध कृषि फार्म प्रालि’ दर्ता गरेर अढाई वर्षदेखि उनले यो खेती थालेका हुन्।
ड्रागन फ्रुटको फार्म सञ्चालन गर्ने क्रममा पैसाको अभाव भएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ थानगाउँस्थित ३ कठ्ठा जग्गा र घर पनि बेचेको उनी बताउँछन्।
पछिल्लो समय उनी पत्नीसहित ड्रागन फ्रुटको फार्मभित्रै बस्दै आएका छन्।
‘म त ६६ कठ्ठाको फराकिलो परिधिभित्र छु, कोरोना भाइरस यहाँ आउँदैन भन्नेमा ढुक्क छु,’ ठट्यौली पारामा उनले भने।