भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं ५ ले कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन गर्ने बताएको छ।
मन्त्रालयले कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आयातित तरकारी तथा फलफुलको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको अवस्थामा स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनको लागि मन्त्रालय मातहत रहेका कार्यालयहरुले सहजीकरण गर्ने निर्णय गरेको हो।
मन्त्रालयको फेसबुक पेजमार्फत मन्त्रालयले गरेका निर्णयहरु जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले जिल्लास्थीत कार्यालयहरुमा रहेका पिकअप वा गत आर्थिक वर्षमा मन्त्रालय र मातहतका कार्यालयले अनुदानमा वितरण गरेका पिकअप गाडीलाई कृषि एम्बुलेन्सको रुपमा संचालन गर्ने निर्णय गरिएको जानकारी दिए।
प्रवक्ता घिमिरेले ती गाडीहरु परिचालन गर्दा गाडीको भाडा सम्बन्धित कृषि सहकारीले बेहोर्नुपर्ने र ईन्धनको लागि भने कृषि ज्ञानकेन्द्र वा मन्त्रालयमा माग गर्न सकिने बताएका छन्।
कोभिडको कारण साना किसानहरुलाई परेको प्रभाव न्यूनिकरण गर्न जिल्ला स्थीत कार्यालयहरुको अगुवाईमा यस्तो प्रयत्न गरिएको उनले जानकारी दिए।
कृषिजन्य उपजको ढुवानी तथा वितरणमा सहजीकरण गर्न १२ वटै जिल्लामा सम्पर्क कार्यालय र सम्पर्क व्यक्ति तोकिएको उनको भनाइ छ।
सम्पर्क व्यक्तिहरु मार्फत मानिसहरुको हिड्डुललाई कम गर्दै चारपांग्रे सवारीबाट टोलटोलमा उपभोक्ता तथा खुद्रा व्यवसायीसम्म पु¥याउने व्यवस्था गर्ने निर्णय गरिएको छ।
यसैगरी अबको बाली लगाउनको लागि किसानहरुलाई विउ, मल तथा किटनाशक विषादी, चल्ला, दाना घांसको व्यवस्था मिलाउनको साथै सामाजिक दुरी कायम राखी समयमै बाली थन्काउन निर्देशन दिइएको छ। बाली लगाउन किसानहरुसंग आवश्यक समन्वय गर्नपनि जिल्लास्थीत कार्यालय तथा कृषि ज्ञानकेन्द्रहरुलाई निर्देशन दिएको हो।
कृषिजन्य उपजको ढुवानीमा कुनै अवरोध भए कृषि ज्ञानकेन्द्र तथा पशुसेवा केन्द्रले स्थानीय स्तरमा नै प्रशासन, सुरक्षा निकायसंग समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।
मन्त्रालयले कृषि तथा पशुजन्य उत्पादन र वितरणको लागि अनलाईन पास तथा ट्रयाकिङ सिस्टम लागू गरी ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रलाई सोहि अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ।
यससँगै उत्पादन गरेको परीमाण सम्बन्धित जिल्लास्थित कार्यालयमा जानकारी गराउन पनि कृषकहरुलाई आग्रह गरेको छ ।