विश्वब्यापी रूपमा कोरोना भाइरस संक्रमण फैलिएपनि वर्खेवालिका लागि रासायनिक मल पर्याप्त भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ।
आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन मल चाहिन्छ। उक्त परिमाणको मल मौज्दात भएकाले अभाव नहुने मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए।
उनकाअनुसार पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साताबाट धान रोपाइँ सुरू हुन्छ। धान लगाएको २०/२१ दिन पछि टप ड्रेसिङ गर्नुपर्ने हुन्छ यसका लागि मल आउने क्रममा रहेको उनले जानकारी दिए।
कृषि सामाग्री तथा साल्ट ट्रेडिङले ग्लोबल टेण्डर मार्फत ल्याउन लागिएको मल कलकत्तामा आएर बसेको कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले बताए। उनका अनुसार दुई कम्पनीको गरी २५ हजार मेट्रिक टन मल रहेको छ। उक्त मल १५ दिन जतिमा आउने भण्डारीले जानकारी दिए।
ओमानबाट २१ हजार ५ सय मेट्रिक टन मल ल्याउने प्रक्रिया पुरा भइसकेको मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिए। यो मल भने लकडाउन खुलेपछि आउने छ।
साल्ट ट्रेडिङ कम्पनीमा ४५ हजार मेट मल मौज्दात छ। जसमा २४ हजार युरिया, १८ डिएपी र २ हजार पोटास। त्यसैगरी साढे ८ हजार गैर अनुदानित मल मौज्दात रहेको कम्पनीका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिए।लकडाउन नखुले टप ड्रेसिङका लागि भने युरिया मलको अभाव हुने कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए।
‘अहिले भएको स्टक मल धान लगाउन चाहिन्छ, लक डाउन नखुली मल ल्याउन सकिँदैन, लकडाउन खुलेन भने चाहिँ समस्या पर्छ,’ उनले भने।
गतवर्षहरूमा मल अभाव भएकोले यसवर्ष मल अभाव हुन नदिने भनेर समयमै मल ल्याउने कार्ययोजना बनाएका उनी बताउँछन्।
अन्य वर्षको तुलनमा यसवर्ष धेरै मल मौज्दात रहेको उनको भनाइ छ।
ग्लोबल टेन्डरमार्पmत पर्याप्त परिमाणमा मल खरिद गरी असारसम्म भित्र्याईसक्ने मन्त्रालयको योजना थियो। यस आर्थिक वर्षमा मलका लागि मन्त्रालयले करिब ९ अर्ब छुट्याएको थियो।