लकडाउनका कारण किसानको उत्पादन खेर नजाओस् र उपभोक्तालाई अभाव नहोस् भनेर रुपन्देहीको सैनामैना नगरपालिकाले घरघरमै तरकारी पुर्याउन थालेको छ।
स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने तर भारतीय उत्पादन उपभोक्ताको भान्छामा पुग्ने समस्याको समाधान गर्दै नगरपालिकाले यस्तो काम थालेको हो ।
नगरपालिकाभित्रका किसानले उत्पादन गरेका हरियो तरकारी गाडी र अटो रिक्सामा राखेर हरेक दिन विक्री वितरण गर्न नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुले समन्वय गर्दै आएका छन्।
रुपन्देहीका भैरहवा, बुटवल बजारसँगै सैनामैनामा समेत अन्यन्त्रबाट साइकलमा तरकारी विक्री वितरण हुँदा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सैनामैनाका व्यवसायिक संघसंस्थाको सहकार्यमा कृषि उत्पादनको विक्री वितरणलाई सहज बनाइएको नगरप्रमुख चित्रबहादुर केसीले जानकारी दिए।
नगरपालिकाले स्थानीय कृषकले उत्पादन गरेको तरकारी सैनामैना व्यापार संघ र उद्योग वाणिज्य संघसंगको सहकार्यमा खरिद गरी गाडीमार्फत विक्री वितरण गर्ने व्यवस्था मिलाएको हो।
नगरभित्र दैनिक तीन वटा गाडी मार्फत टोलटोलमा हरियो तरकारी पठाउन थालिएपछि किसानको उत्पादन खेर जाने समस्या समाधान भएको छ भने उपभोक्तालाई तरकारी अभाव पनि टरेको छ।
व्यापार संघका उपाध्यक्ष गणेश भुषालले नगरपालिकाको समन्वयमा कृषि उत्पादनको विक्री वितरण गरिँदा मूल्यमा एकरुपतासँगै उपभोक्तामा जोखिम समेत कम भएको बताए।
स्थानीय किसान रामलाल थारुले नगरपालिकाले कृषि उत्पादनको विक्री वितरणको लागि सहजीकरण गरिदिँदा उत्पादन खेतबारीमा नष्ट हुने समस्या हटेको बताए ।
अहिले किसानहरुले टमाटर, बन्दा, मूला, सिमी, बोडि, भिन्डी, करेला, भान्टा, काँक्रा, फर्सी, लौका, घिरौला जस्ता तरकारी उत्पादन गरेका छन्।