काठमाडौंको नागार्जुन नगरपालिकामा पर्ने रामकोटमा हरिशरण गिरी फूल खेती गरिरहेका छन्। उनले लामो समयदेखि फूल खेती गरिरहेकाले विभिन्न प्राकृतिक प्रकोप भोगेका छन्।
लाखौं लगानी गरेका गिरीले वर्षेनी आउने हावाहुरी भोगेकै थिए। ठूलो भूकम्प पनि उनले सहेकै थिए। तर ती हरेक विपत्तिमा उनको व्यवसायमा क्षति पुगे पनि जेनतेन पुनरागमन गरेकै थिए।
'लगानी गरेर खेती गरेको ९ वर्ष भयो। लगानी धेरै भइरहेको छ। बीचमा हावाहुरीले क्षति गरिरहेको थियो। भूकम्पसम्म झेलिएकै थियो। जब लकडाउन सुरू भयो। ३३ दिनसम्म हामीले कटफ्लाउरका बिरूवा काट्नेमात्र काम भइरहेको छ। अब यस्तै रहे ८०/९० लाख लगानी डुब्ने निश्चित छ' उनले सेतोपाटीसँग भने।
३५ रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका गिरीले यो वर्षमात्र ३५ लाख लगानी गरेको बताउँछन्।
युरोपदेखि बिरूवा ल्याएर कटफ्लाउरका बिरूवा हुर्काएका उनको आम्दानीको मुख्य सिजन नै फागुनदेखि वैशाख हो। विशेषगरी विवाह,विजनेस इभेन्ट तथा ठूला होटलमा जाने उनको फूलको व्यवसाय चौपट हुने अवस्था आएको हो।
फूल विक्री नहुने अवस्था भएपछि अहिले उनले काटेर फाल्ने गरेका छन्। त्यसबाट गाउँका बासिन्दाले केही सजाउन लिन्छन् भने गाई बाख्रालाई घाँसको रूपमा पनि दिने गरेका छन्।
अबको अझै एक वर्षसम्म व्यवसाय चौपट हुने गिरी बताउँछन्। होटल सामान्यरूपमा सञ्चालन नभएसम्म उनको व्यापार नियमित हुने छैन।
गिरीको फार्ममा काम गर्ने १० जना श्रमिक अहिले यहीँ रोकिएका छन्।
लकडाउनका कारण गाउँ जान नमिल्ने भएपछि काम नभए पनि फार्ममै राखिएको उनले जानकारी दिए।
हेर्नुस् तस्बिर :