नेपाल डेरी ऐसोसिएसनले दूध तथा दूधजन्य पदार्थ ढुवानीका सवारी साधनलाई समयसीमा नतोकी बिना रोकतोक आवत जावत गर्न सहजिकरण गराईदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ।
सरकारले बैशाख २८ गतेबाट टाइम कार्ड लागू गरेपछि दूधजन्य पदार्थ ढुवनीमा समस्या परेको भन्दै सहजिकरणका लागि एसोसिएसनले गृह मन्त्रालयलाई आग्रह गरेको हो।
सरकारले कायम गरेको टाइम कार्ड अनुसार डेरी क्षेत्रलाई विहान १० बजेबाट मात्र ढुवानीका लागि समय दिइएको छ।
दूधजन्य पदार्थ जुनसुकै बेला ढुवानी गर्न पर्ने भएकाले टाइम कार्डले समस्यमा पारेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण साप्कोटाले बताए।
‘पूर्ण रूपमा लकडाउन हुँदा दूध ढुवानीमा केही समस्या थिएन, अहिले सरकारले खुकुलो बनाउने भनेपछि समस्या भएको छ,’ उनले भने।
दूध ढुवानीमा गर्न गएका चालक तथा सहचालकलाई सुरक्षाकर्मीले बाटोमा समयावधि सकियो भन्दै उठबस गर्न लगाएको उनले गुनासो गरे।
समयसीमा भित्र रहेर दूध तथा दूधजन्य पदार्थ ओसार पसार गर्न कठिन हुने हुँदा समय तालिकामा औषधि र खानेपानिलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसीमा नतोकी बिना रोकतोक सञ्चालन गर्न दिनुपर्ने उनले बताए।
राष्ट्रिय दूग्ध विकास बोर्डले पनि आजै यसविषयमा काठमाडौं महानगरमा चिठी पठाउने तयारी गरेको उनले जानकारी दिए।
दूधलाई अत्यावश्यक मान्दै विगतका बन्द, हड्ताल र हालको लक डाउनमा समेत बिना रोकतोक दूध तथा दूधजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सहज रूपमा आवतजावत गर्न दिइरहेकोमा बैशाख २८ गतेबाट समय तालिका (टाइम कार्ड) निर्धारण गरिएपछि डेरी लगाएत अन्य केही क्षेत्रमा समस्या परेको छ।