१५ वर्षअघिसम्म पाँचथरको मिक्लाजुङ गाउँपालिकामा प्राय सबै खेतबारीमा अन्न उब्जिन्थ्यो। मानिसहरू आफ्नो बारीमा धान, मकै, आलु, सुन्तला, किवी, लिचीलगायत अनाज तथा फलफूल मजाले फलाउँथे।
त्यहाँ फल्ने जति धान, आलु स्थानीयस्तरमै खपत हुन्थ्यो। केहीले आफ्नो उत्पादन परपरसम्मका गाउँसम्म बेच्थे।
पछि समय बदलियो। पैसा भएकाहरू जग्गा किनेर अन्तै बसाइँ सरे। युवाहरू कोही सहर पसे। कोही पैसा कमाउन खाडी, मलेसिया र कोरिया गए।
अहिले पालिकाभित्रको खेतीयोग्य जमिन ५० प्रतिशत बाँझो छ।
'हाम्रो गाँउमा पहिले खेतीयोग्य सबै जमिन बाली लगाइन्थ्यो,' गाउँपालिका अध्यक्ष अमरराज माखिमले सेतोपाटीसँग भने,'तर पछि मानिसहरूले बारीमा काम गर्न छाडे। कोही कुटो कोदालो गरेर के हुन्छ र भन्दै सहर पसे।’
संसारभर कोरोनाभाइरसको लहर फैलिएसँगै नेपालका गाउँ पनि भरिन थालेका छन्। एकातिर लकडाउनले सहर बन्द छ अर्कातिर रोग र भोकको चिन्ताले मानिसहरू वर्षौंपहिले छोडिआएको गाउँ फर्किएका छन्।
मिक्लाजुङमा सहरबाट फर्किएकाहरूले गाउँ भरिएको छ। लकडाउन खुल्ने अनिश्चितता र खेतीपातीको सिजन सुरू हुने बेला भएकाले सहरबाट गएकाहरू बारीमा देखिन थालेका छन्।
मिक्लाजुङ गाउँपालिकाले कोरोना महामारीका बेला गाउँ फर्किएकाहरूलाई प्रोत्साहन गरेर पालिकाभित्रको सबै जमिनबाट फसल भित्र्याउने योजना गरेको छ।
गत शुक्रबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले राम्रो उत्पादन गर्ने किसानलाई पुरस्कार दिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष माखिमले यसपालि ४० मुरी धान फलाउने किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको बताए।
'कृषकहरू मर्मलाई बुझेर हामीले यस्तो गरेका छौं,' अध्यक्ष माखिमले भने,'यो पुरस्कारको व्यवस्थाले भने बाँझो रहेका सबै जमिन हराभरा देखियो।'
गाउँपालिकाले मकै, आलु फलाउने किसानलाई समेत अनुदान दिने भएको छ।
चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाक्रो राख्ने किसानलाई पनि एक लाख दिने निर्णय गरेको छ। १४ क्विन्टलभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ।
गाउँपालिकाले कृषि क्षेत्रलाई उकास्न ७० लाखको बजेट छुट्याएको छ।
'७० लाखको बजेट छुट्याएको छ,' उनले भने,'अनुदानमा मात्रै २०-२५ लाख खर्च हुने देखिएको छ।'
यो व्यवस्था कार्यन्वयन गराउन गाउँपालिकाले अनुगमन टोलीसमेत बनाउने भएको छ।
गाउँपालिकाबाट एक जना प्रतिनिधि, वडाका एक जना र समुदायका एक जना हुने गरी अनुगमन टोली बन्नेछ।
यसअघि पनि गाँउपालिकाले कृषकहरूका लागि विभिन्न कार्यक्रम तथा योजनाहरू बनाएको थियो।
किबी, आलु, सुन्तला, एभोकाडो, लिचीलगायत बिउ बाँडिसेकको अध्यक्ष माखिमले जानकारी दिए।
गाउँमा फल्ने धान र आलु सबै आफ्नै गाउँमै खपत हुने गरेको छ। केही खाद्यान्न भने व्यापारका लागि बाहिरी गाउँमा समेत बेच्न थालेको उनले बताए।
'धान र आलुचाहिँ हाम्रो गाउँमा जति फले पनि यही खपत हुन्छ। हामी त्यसमा आत्मनिर्भर छौं,' उनले भने,'केही सामग्री भने बाहिरी गाउँमा पनि जाने गरेको छ।'
उनका अनुसार पाँचथरमा सबैभन्दा बढी सुन्तला पनि यही गाउँपालिकामा उत्पादन हुने गरेको छ।
अहिले गाउँपालिकाले गरेको निर्णयले भने बाँझो रहेका जमिनमा खेती हुने आशा रहेको अध्यक्ष माखिमले बताएका छन्।