अहिले मुलुकभरि नै बर्खे मकै लगाउन सुरू भइसकेको छ। मकैको बोट हुर्कन थालेसँगै किसानलाई अमेरिकन फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भए छ।
नेपालमा गत बैशाख २६ गते नवलपरासीको गैंडाकोटबाट यसको पहिचान गरिएको थियो।
अमेरिकन फौजीे किराले यसवर्ष पनि किसानलाई दुःख दिएको मकै सुपरजोन, दाङका प्रमुख महेश रेग्मी बताउँछन्।
‘बसन्ते मकै(माघ–फागुन)लाई त किसानले बल्ल तल्ल जोगाए, तर बर्खे मकै जोगाउन गाह्रो छ,’ उनले भने।
कृषि मन्त्रालयले अमेरिकन फौजी किराबाट मकै बाली जाेगाउन विषादी सिफारिस गरेको छ। लकडाउनले गर्दा किसानलाई विषादी किन्न जान समस्या परेको उनले बताए।
‘पहिले ल्याएका विषादी बसन्ते मकैलाई हालेर सकियो, अहिले विषादी किन्न जाने सक्ने अवस्था छैन,’ उनले भने, ‘हामीले किसानलाई घरै गएर घरायसी उपाए सिकाएका छौं।’
धान जमरा लागेका मकैमा किराले बढी असर गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले बताए।
उनका अनुसार फौजी किराले लगाएको बालीमा २० देखि ३० प्रतिशत नोक्सान पुर्याएको छ। बाली जोगाउन किसानले मन्त्रालयले सिफारिस गरेको विषादीलाई मकैको गुबोमा हालेर व्यवस्थापन गरेको उनले बताए।
यी त प्रतिनिधि जिल्ला मात्र हुन्। मकै बाली लगाइने सम्पूर्ण क्षेत्रमा यसले असर गरेको कृषि मन्त्रालयको अध्ययनले देखाएको छ।
मन्त्रालयले ‘नेपालमा फौजी किराको असर, न्युनीकरणका उपाए’ भन्ने प्रतिवेदन तयार पारेको छ।
प्रतिवेदन अनुसार फौजी किराले मे ७, २०२० सम्म असर गरेका जिल्लाहरूमा प्रदेश १ का ११ जिल्ला उदयपुर, ओखलढुंगाा, खोटाङ, धनकुटा, मोरङ, सुनसरी, झापा , भोजपुर, इलाम पाँचथर र रामेछाप छन्।
प्रदेश २ का ६ जिल्ला बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिराहा र बाग्मति प्रदेशका ९ जिल्ला चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपल्चोक, दोलखा, ललितपुर, भक्तपुर र धादिङ रहेका छन्।
त्यस्तै, गण्डकी प्रदेशका ४ स्याङ्जा, तनहु, नवलपुर (गैडांकोट, गोरखा) र प्रदेश ५ को १० जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान, कपिल्वस्तु, रुपन्देही, गुल्मी र कर्णालीका ३ जिल्ला सुर्खेत, दैलेख र सल्यान जिल्ला रहेका छन्।
सुदुरपश्चिमका २ जिल्ला कैलाली, कन्चनपुर गरी कुल ४६ जिल्लालाई प्रभाव पारेको छ।
यसले मकै लगाएको कुल क्षेत्रफलको २० देखि ३० प्रतिशत बालीमा नोक्सान पुर्याएको मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए।
राम्रो व्यवस्थापन गरेन भने मकैमा सय प्रतिशत नै घाटा निम्ताउन सक्ने उनी बताउँछन्।
फौजी किराका व्यवस्थापनका लागि विभन्न डेभलपर्स पार्टनर(स्वीस एजेन्सी, एफएओ, युएसआइडी, एनएएफ सीआइएमएमवाइटी, एफटिएएनआपिएम आइडिइ, केआइएसएएन परियोजना) हरुको सहयोगमा योग्यता विकास गर्ने, सचेतना जगाउने कार्यक्रम विभिन्न क्याम्पेन र प्रदेशमा उक्त किराकाे व्यवस्थापनका विषयमा छलफल लगायतका काम भएको उनले बताए।
उनका अनुसार लकडाउनका समयमा पनि काठमाडौं, सुर्खेत, प्रदेश ७, ६ झापा, उदयपुर, सुनसरी, मोरङलगायत जिल्लामा फौजी किराको व्यवस्थापनका प्रदेश स्तरीय भर्चुअल मिटिङ गरिएको छ।
‘फौजी किराको विषयमा भर्चुअल माध्यम (फोन, जुम आदि) मार्फत परामर्श आदानप्रदान गरिएको थियो,’ उनले भने, ‘रेडियो तथा टि.भी. मार्फत कृषि कार्यक्रम प्रशारण समेत गरेका थियौं।’
फौजी किरा व्यवस्थापनका लागि अनुसन्धनको स्रोत दायरा बढाउने, कृषकहरुलाई योग्यता बढाउने तालिम दिइने, अन्तर्राष्ट्रियस्तरका सरोकारवालाबीच समन्वय बढाउने, निगरानी तथा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरिने लगायत मन्त्रालयको भावी योजना रहेको उनले बताए।
अमेरीकन फौजी किरा पुतली वर्ग अन्तर्गतको रात्रीच्चर किरा हो। यो रातमा सक्रिय हुन्छ। सुरूआती चरणदेखि अप्रिलसम्म ३५ जिल्लामा फैलिएको छ। यो देशभरि फैलन सक्ने सम्भावना रहेको छ। मकै बाहेक यसले अहिलेसम्म अन्य बाली खाएको छैन।
फौजी किरा सन् १०१६ मा १ वर्षको अवधिमा अफ्रिकाको ४० देशमा फैलिएको थियो। यसको माउले १ दिनमा एक सय किमी सम्म उड्न सक्ने भएकाले यो किरा धेरै छिटो फैलिन्छ। यसले ८० किसिमका बालीमा नोक्सान पुर्याउन सक्ने विभिन्न अध्ययन देखाएको छ।